काठमाडौं- अर्थ मन्त्रालयले जिम्मेवारीका आधारमा सबैभन्दा महत्वपूर्ण मानिने आन्तरिक राजस्व विभाग एक महिनादेखि नेतृत्वविहीन राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले प्राथमिकतामा नराख्दा विभाग नेतृत्वविहीन भएको हो।
विभागका तत्कालीन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएसँगै खाली भएको ठाउँमा नयाँ महानिर्देशक पठाइएको छैन। अहिले त्यहाँ वरिष्ठ उपमहानिर्देशक रहेका गजेन्द्रकुमार ठाकुरलाई निमित्तको जिम्मेवारी पनि नदिइँदा सामान्य विषय पनि निर्णय नभइ थन्केका छन्।
विभागमा अहिले तत्काल निर्णय गर्नुपर्ने एक सय भन्दा धेरै फाइल पेन्डिङमा छन्। निमित्तको जिम्मेवारी पनि नदिएकाले ठाकुरले त्यसलाई अघि बढाउन चाहेका छैनन्। फाइलको चाङ लाग्न थालेपछि उनले शाखाहरूलाई फाइल अघि नबढाउन भनेका छन्।
महानिर्देशक नहुँदा विभागले प्रशासकीय पुनरावलोकनका निवेदनमा निर्णय लिन सकेको छैन। त्यसैगरी अन्तशुल्क लाग्ने वस्तुका लागि चाहिने स्टिकरको निवेदन दिए पनि त्यसमा निर्णय भएको छैन। ‘निमित्तको जिम्मेवारी नदिएकाले कुनै विषय निर्णयमा पुर्याइएको छैन’, स्रोतले भन्यो।
सामान्यतया आन्तरिक राजस्व विभागमा नेतृत्व खाली भएको एक/दुई दिनमा नै नयाँ महानिर्देशक पठाएर काम नियमित गर्ने गरिएको भए पनि यसपटक ढिला गरिएको छ। विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तिया दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिँदा तत्कालीन् उपमहानिर्देशक चन्द्रकला पौडेललाई दुई महिनासम्म निमित्तको जिम्मेवारी दिइएको थियो।
‘अबको केही दिनमा मन्त्रालयले नयाँ महानिर्देशक पठाउँछ’, अर्थ मन्त्रालयका एक सहसचिवले भने।
नयाँ महानिर्देशकको विषयमा अर्थमन्त्री पौडेलले अहिलेसम्म उच्च व्यवस्थापन समूहको बैठकमा पनि नाम उच्चारण गरेका छैनन्। मन्त्रीले अग्रसरता नलिएका कारण सचिवहरूले पनि नयाँ महानिर्देशक पठाउने विषयमा अहिलेसम्म नाम लिएका छैनन्।
कसको चाहना को ?
प्रशासन समूहको सहसचिवले नेतृत्व गर्ने विभागको महानिर्देशक मातहत एक प्राविधिकसहित ६ सहसचिव हुन्छन्। विभागमा प्राविधिक निर्देशक एक र ३ उपमहानिर्देशक छन्। त्यस्तै ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा पनि सहसचिव नै हुन्छन्। उनीहरूभन्दा वरिष्ठ सहसचिवलाई महानिर्देशक बनाउनुपर्ने भएकाले सहसचिवमध्ये पनि माथिल्लो वरियतामा रहेकालाई मात्रै त्यहाँ पठाइन्छन्।
विभागको महानिर्देशकका लागि अर्थसचिव शिशिरकुमार ढुंगानाको चाहना सहसचिव रामेश्वर दंगाललाई पठाउने छ। अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रहेका उनले त्यहाँ जान अस्विकार गरेका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशकी सचिव चन्द्रकला पौडेल अर्की दाबेदार हुन्। विभागको निमित्त महानिर्देशक भइसकेकी उनी तत्कालीन राजस्व तालिम केन्द्रको प्रमुख भइसकेकी छन्।
विभागको महानिर्देशक बन्न राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली पनि अग्रसर देखिएका छन्। राजस्वकै क्याडर उनी महानिर्देशक भए विभागबाट ठाकुरलाई सरुवा गर्नुपर्छ। ठाकुरभन्दा मैनाली जुनियर सहसचिव हुन्।
अर्थ मन्त्रालयका अधिकारीहरूले बताएअनुसार मैनालीको सम्भावना बढ्दै गएको छ। यद्यपि, प्रधानमन्त्र कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीको अर्थ मन्त्रालयमा सरुवा भइसकेको छैन। यो सरुवा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।