काठमाडौं- नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा रहेको जंगलमा रहेको कूकाठ बिक्री गर्ने प्रक्रिया बढाएको छ। ट्रष्टले जंगलमा रहेका काठ सडेर गएको भन्दै आर्थिक आय आर्जनका लागि काठ बिक्री गर्नेगरी प्रक्रिया अगाडि बढाएको हो।
नेपाल ट्रष्टको कार्यालयलाई सञ्चालक समितिको बैठकबाट काठ बिक्री प्रक्रियाका लागि सैद्धान्तिम सहमति दिने निर्णय गरेको छ। सञ्चालक समितिको ६४औं बैंठकले ट्रष्टको स्वामित्वमा रहेको चितवनको दियालो बंगला परिसर, गोकर्णस्थित् जंगल र ट्रष्टको स्वामित्वमा रहेका अन्य स्थानका जंगलहरुमा रहेको सुखाखडा, ढलापडा तथा जोखिमयुक्त रुखरु कटान संकलन गरी बिक्री प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिएको हो।

सञ्चालक समितिको सैद्धान्तिक सहमति पाएसँगै नेपाल ट्रष्टको कार्यालयले अध्ययन अनुगमन गरी कूकाठ तथा जोखिमयुक्त रुखहरुको कटान गरी बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए।
‘सुखाखडा, ढलापडा तथा जोखिमयुक्त रुखहरु कटान, संकलन गरी बिक्री प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति पाएका छौं,’ सहसचिव भुसालले भने, ‘सोही सैद्धान्तिक सहमतिको आधारमा बसेर कानूनसम्मत लिलामी प्रक्रिया अघि बढाउने छौं। काठ बिक्रीका लागि वन तथा वातावरण मन्त्रालयले पनि खुला गरिसहेको छ।’
ट्रष्ट कार्यालयका अनुसार अहिले गोर्कण फरेष्ट जंगल तथा चितवनको दियालो बंगलामा बढी सुखाखडा, ढलापडा तथा जोखिमयुक्त रुखहरु रहेको आकलन गरेको छ। तर, कति रकमको काठ रहेको भने विषयमा भने अहिले यकिन नभइसकेको भुसाल बताउँछन। कतिपय रुख ढलेर भवनलाई समेत असर गरेको ट्रष्टका कार्यालयको भनाइ छ।
यो निर्णयले जंगलको सुन्दरता बढाउने सँगै आर्थिक आय आर्जन पनि हुने ट्रष्टका कार्यालयको दाबी छ। ट्रष्टको स्वामित्वमा सबै भन्दा बढी जंगलको जग्गा गोकर्ण फरेष्ट र दियालो बंगलामा छ।
दियालो बंगलामा मात्रै ८ सय रोपनी भन्दा बढी जग्गा छ भने गोकर्ण फरेष्टमा ४ हजार रोपनी जग्गा रहेको छ। कार्यालयले ट्रष्टको आर्थिक कार्यविधि नियमावली २०६४ अनुसार प्रक्रिया पूरा गरी काठ लिलामीमा बिक्री गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।