बझाङ- यार्सागुम्बा संकलनका लागि जिल्लाका दर्जनौं विद्यालय बन्द भएका भएका छन्। सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले बैसाख १६ गतेदेखि रोक लगाएको यार्सा संकलन खुला गरेपछि यहाँका विद्यालय बन्द भएका हुन्।
बालकदेखि हिँडडुल गर्न सक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बतए।
'यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ,' उनले भने, 'किनकि यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो।'
यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन्। यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो। विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन्।
स्थानीय रमेश बोहराले विगतमा एक सिजनको एकै परिवारले तीन महिनाको अवधिमा न्यूनतम एक केजीदेखि दुईतीन केजीसम्म संकलन गर्दै आए पनि अहिले कम हुँदै गएको बताए। 'यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा पनि घरघडेरी बनाएका थियौं,' उनले भने। यार्सा संकलनसँगै यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोत जडीबुटी र भेडापालन पनि हो।
यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दछन्। यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।