काटमाडौं- नेपाल ट्रष्टले बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेड कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतसम्म शेयर खरिद गर्न सक्ने निर्णय गरेको छ।
नेपाल ट्रष्टको ६४ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिको बैठकले नेपाल ट्रष्टको नियमावली २०६५ को नियम ६ को उपनियम २ को खण्ड ‘घ’मा रहेको व्यवस्थाअनुसार सेयरमा लगनी गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो।
उक्त खण्डको ‘घ’मा ट्रष्टलाई प्राप्त भएको रकम लगानी गरी कुनै बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेड कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत शेयर खरिद गरी यस्तो कम्पनीको संस्थापक शेयरधनी हुने र खण्ड ‘च’मा ट्रष्टलाई आयआर्जन हुने भनी समितिले उचित ठहर्याएको अन्य कुनै कार्यक्रम वा आयोजनामा नेपाल सरकारको पूर्वस्वीकृत लिई लगानी गर्न दिने विषय समितिमा प्रवेश भएको थियो।
सोही प्रस्तावको आधारमा समितिको बैठकले बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेडको शेयर खरिद गर्दा कार्यालयलाई लाभ पुग्ने देखिएमा त्यस्तो प्रस्ताव सञ्चालन समितिमा पेस गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। योसँगै लगानी गर्ने बाटो समेत खुलेको छ।
अहिले ट्रष्टको खातामा अर्बभन्दा बढी रकम जम्मा भइसकेको छ। तर, ट्रष्टको उद्देश्यअनुसार लगानी हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।