काठमाडौं- बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक, विशाल फाउन्डेसन र युनिग्लोव कलेजको सहकार्यमा ‘स्टार्ट अप आइडिया कल’ कार्यक्रम घोषणा भएको छ।
युवा उद्यमशीलता विकासका लागि भन्दै शुरु भएको यो कार्यक्रमको आइतबार सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्घाटन गरे। उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) मार्फत आवस्यक सीप र सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ।
उत्कृष्ट ‘आइडिया’ पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी निशुल्क तालीम दिईनेछ भने राष्ट्रिय बाणिज्य बैंकमार्फत् बढीमा ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ।
‘स्टार्ट अप आइडिया कल’ बारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड-१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारिएको बताए।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले पर्याप्त अवसर रहेको बताउँदै युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यवसायिक रणनीति हुनुपर्ने बताइन्।
त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं उद्यमी पवन गोल्यानले ‘कम्फट जोन”मा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरुको उपयोग गर्न युवाहरु केन्द्रित हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।