काठमाडौं- निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना तयार पारिएको बताएको छ।
शनिबार काठमाडौंमा आयोजित प्रहिलो वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा हालको तुलनामा दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो।
महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तर्क्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको उनको भनाइ छ।
निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुदृढ गर्न प्रतिबद्ध व्यवसायीहरुद्वारा रणनीति तयार पारिएको पनि अध्यक्ष गुरुङको भनाइ छ।
'महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्बमा पुर्याउने रणनीति बनाएको छ भने पाँच वर्षमा ७ खर्ब निर्यात पुर्याउने लक्ष्य लिएको छ,' अध्यक्ष गुरुङले भने।
निर्यात बढाउनका लागि महासंघले सरकार र व्यवसायीहरुको बीचमा समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गुरुङले बताए।
यस्तै निर्यात प्रवर्द्धनका लागि उपयुक्त नीतिगत एवं व्यवहारिक व्यवस्थाका लागि महासंघले छोटो समयमा महत्वपूर्ण कार्य गर्न सफल भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।