काठमाडौं- सरकारले पाशुपत क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिरभित्र १ सय किलोग्रामभन्दा बढी तौलको सुनको जलारी राख्ने भएको छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथको मन्दिरभित्र रहेको चाँदीको जलारीको सट्टा एक क्विन्टलभन्दा बढी सुन प्रयोग गरेर जलारी बनाइने भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री भानुभक्त ढकालले मन्दिरमा सुनको जलारी राख्ने विषय पशुपति क्षेत्र विकास कोष परिषदबाट समेत अनुमोदन भइसकेको जनाकारी दिएका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलारी राख्ने उद्घोष गर्नुभएको थियो,’ मन्त्री ढकालले भने, ‘जतिसक्दो छिटो सुनको जलारी राख्नका लागि विकास कोषको परिषदमा प्रस्ताव लगरे निर्णय गरिसकेका छौं।’
परिषद्बाट भएको निर्णयअनुसार सुनको जलारी राख्न प्रारम्भिक अध्ययन थालिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। कोषले अहिले भएको जलारी कहिले राखिएको र त्यसमा कति चाँदी प्रयोग भएको भन्ने विषयमा पनि अध्ययन गरिरहेको उनले बताए।
‘आइतबार सोमबारसम्ममा जलारी राख्न लाग्ने सुन र त्यसको लागत मूल्य तय हुन्छ,’ ढकालले भने, ‘जलारीका लागि मात्रै एकसय किलोभन्दा बढी सुन लाग्ने प्रारम्भिक आँकलन गरिएको छ।’
पहिलो चरणमा कोषले मन्दिर सुनको जलारी राख्ने र दोस्रो चरणमा बसाहामा सुनको जलप लगाउने तयारी भएको पनि ढकालले बताए। जुनको जलारी राख्न यसअघि ६५ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको थियो।
अहिले सुनको मूल्य बढेका कारण लागत बढ्ने ढकाल बताउँछन। सुनको जलारीका लागि सरकारले ३० करोड रूपैयाँ सहयोग गर्ने र बाँक रकम कोषबाट खर्च गरिने निर्णय भएको छ।
पशुपतिनाथ मन्दिरभित्र सकेसम्म आउँदो शिवरात्रिभित्र र त्यो अवधिमा नभ्याउने अवस्था आए अक्षयतृतीयासम्ममा सुनको जलारी राख्ने गरी तयारी अघि बढाइएको छ। हिन्दू धर्मावलम्बीको पवित्रतीर्थस्थल पशुपतिनाथ दर्शन गर्न भारतसहित अन्य देशका तीर्थालु आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।