फाइल तस्बिर काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्युआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन्।
नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर स्थित थोक फलफूल बिक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्युआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताएका हुन्।
पैसाको माध्यमबाट कोभिड–१९ संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्युआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको उनको भनाइ छ।
गभर्नर अधिकारीले आफू पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लाग्न थालेकोसमेत उल्लेख गरे।
नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उनको भनाइ थियो। यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताए।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताए।
प्रत्येक फलफूल पसलमा क्युआर कोड मार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उनको भनाई थियो। सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबारसम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताए।
साइकलमा फलफूल विक्री गर्दै हिंड्ने महमद सुल्तान मियाँले क्युआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताए। साइकलमा फलफूल राखेर गोजीभरी खुद्रा पैसा बोकेर हिंडनु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि कम हुने उनले बताए।
क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आए नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।