नुवाकोट- नुवाकोटको त्रिशुली अस्पताललाई रसुवाको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ४६ लाख सहयोग गरिएको छ। जिल्ला समन्वय समिति रसुवाले दिएको जानकारी अनुसार कालिका गाउँपालिकाबाट ४० लाख र गोसाइँकुण्ड गाउँपालिकाबाट ६ लाख गरि उक्त रकम अस्पताललाई पठाइएको हो।
रसुवा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित मोहन आचार्यको संयोजकत्वमा गत २२ मंसिरमा बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको थियो।
जिल्ला समन्वय अधिकारी मिना अर्यालका अनुसार त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिको खातामा रकम पठाइएको छ। अब रसुवा जिल्लाका वासिन्दाले त्रिशुली अस्पतालबाट लिइएको कोभिड-१९ सम्बन्धि उपचार तथा सेवाको विवरण अस्पतालले जिल्ला समन्वय समिति रसुवा र पाँचवटै गाउँपालिकामा मासिक रुपमा पठाउनुपर्नेछ।
नुवाकोटमा पिसिआर परीक्षणलाई व्यवस्थित र दीर्घकालीन रुपमा संचालनमा ल्याउन रसुवाले समेत सहयोग गर्ने निर्णय भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए।
‘रसुवामा पिसिआर मेसिन किनेर संचालन गर्न नसकिने भएकाले नुवाकोटमा रहेको पिसिआर मेसिनबाट सहज रुपमा रसुवावासीले सेवा लिन सक्ने र हालसम्म पनि लिइरहेको कारण नुवाकोटमा स्थापना गरि संचालन भइरहेको पिसिआर परीक्षणलाई व्यवस्थित रुपमा दीर्घकालीन बनाउनका लागि सहयोग गरिएको हो’, उनले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।