काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई 'हालसम्मकै विशाल' बनाउनेबारे कार्ययोजना बनाएको छ।
नेकपा केन्द्रीय संघर्ष समिति सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको हो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए।
उनीहरूले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाइ रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेको बताएका थिए। अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिएका थिए।
यही माघ ९ गते प्रचण्ड-माधव पक्षले काठमाडौंमा सभा गरेको थियो। त्यसपछि पनि ‘टाउकोमै हान्नुपर्ने’ भन्दै प्रचण्डले फेरि एकपटक काठमाडौंमै प्रदर्शन गर्ने योजना सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।