काठमाडौं- विभागीय क्लब, त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ। एपिएफले आर्मीलाई २–० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा एपिएफका लागि मञ्जलीकुमारी योञ्जन र सरु लिम्बूले गोल गरे। यो जितसँगै एपिएफले तीन खेलबाट १५ गोल गर्दा एक गोल पनि खाएको छैन।
पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित गरेको एपिएफले आफ्नो दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोलअन्तरले पराजित गरेको थियो।
आर्मीलाई पराजित गर्ने क्रममा खेलको २७औं मिनेटमा मञ्जलीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। सावित्रा भण्डारीले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै मञ्जलीले गोल गरेकी थिइन्।
पहिलो हाफको अतिरिक्त समयमा सावित्राकै एसिस्टमा सरु लिम्बूले गोल गरिन्। योसँगै आर्मीविरुद्ध एपिएफले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा पनि यो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।