काठमाडौं- नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिनेछ।
ती परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर ( करिब २२ अर्ब १७ करोड रूपैयाँ) रहेको छ। लगानी बोर्ड कार्यालयमा सम्पन्न समझदारीपत्रमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ कियाङले हस्ताक्षर गरेका छन्।
समझदारीपत्रअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ। २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले उक्त कम्पनीलाई प्रतिवेदन तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।
यो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।