काठमाडौं- सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग भएको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीले कोटा प्रणाली खारेजीका लागि आवश्यक सहयोग गरिदिन महासंघसँग आग्रह गरेका हुन्।
महासंघका अध्यक्ष गोल्छासँगको भेटमा सुनचाँदी व्यवसायीका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रूपमा व्यवसाय सञ्चालनका लागि व्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्र सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्रसमेत स्थापना गरिनुपर्नेलगायतका विषयलाई कार्यान्वयनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए।
त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यावसायीको आग्रहअनुसार त्यसलाई खारेज गर्न महासंघले पहलकदमी लिने विश्वास दिलाए। आयातित सुन पुनः विदेश नजाओस् भन्नका लागि सिमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकिने व्यवसायीको सुझाव छ।
पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकहरूमार्फत् दैनिक १० किलो सुन आयात हुँदै आएको छ। केही समय अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो। देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।