काठमाडौं-
‘दिनभरि कार्यक्रममा केपी ओली समूहका पक्षमा, प्रचण्डविरुद्ध बोल्छु। राती सुत्न खोज्यो, निद्रै लाग्दैन। कमरेड, यता लागिहालियो, के हुने हो?’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूहमा लागेका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले केही दिन पहिले लामो समय राजनीतिक सहकार्य गरेका पूर्वमाओवादी समूहका एक स्थायी कमिटी सदस्यलाई यस्तो अनुभूति सुनाएका थिए।
तत्कालीन एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा अहिले दुई समूहमा विभाजन भएको छ। यद्यपि यी दुई समूहको विभाजनले कानूनी वैधता पाएको छैन। एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल छन्।
यहीबीचमा प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’लाई ‘कुहिएको फर्सी’को संज्ञा दिएपछि रायमाझीको बेचैनी अझ बढेको हुनुपर्छ। तर, उनले कोहीसँग यसबारे ‘सेयर’ गरेका छैनन्।
रायमाझीको पछिल्लो मनस्थिति प्रष्ट नभएपछि प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट उनीसँगै रहेका पूर्वमाओवादी नेताहरू भने चिँढिएका छन्। आफूहरुले रगत र पसिना बगाएको ‘जनयुद्ध’लाई ओलीले उपहास गर्न थालेपछि नेताहरूले उकुसमुकुस पोख्न थालेका छन्। ओली समूहका नेता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट यो विषयमा आफूले प्रधानमन्त्री ओलीलाई भेटेर जिज्ञासा राखेको बताउँछन्।
‘सार्वजनिक रुपमा प्रधानमन्त्रीज्यूले जनयुद्धलाई कुहिएको फर्सी भन्नुभयो भन्ने कुरा आयो,' नेपाल लाईभसँगको कुराकानीमा भट्टले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई सोधें, 'तपाईंले जनयुद्धलाई कुहिएको फर्सी भन्नु भएको हो र? उहाँले होइन भन्नुभयो, कुरा सकियो।’ आफूले मानेको नेताले आफ्नै भावनामा ठेस पुर्याउने अभिव्यक्ति दिए त्यसको प्रतिवाद गरिने भट्टले बताए।
यस्ता क्रियाकलापले ओलीको समूहमा सक्रिय पूर्वमाओवादी नेताहरूमा उकुसमुकुस बढाउँदैछ।
त्यति मात्र होइन, पूर्वमाओवादी समूहका नेताहरुले कस्तो भाषण गरे भन्नेबारे समेत ओलीपक्षीय नेताले नजिकबाट नियाल्ने गरेका छन्। ती नेताले अप्रत्यक्ष रुपमा ‘यसरी भाषण गर्नुपर्यो’ भनेर पूर्वमाओवादीका नेतालाई भन्ने गरेको नेताहरू सुनाउँछन्।
नेकपा फुट्नुअघि पार्टीमा पैदा भएको अप्ठेरोबीच प्रधानमन्त्री ओलीले शुरुमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको नजिक रहेका नेताहरुलाई आफूतिर तान्ने रणनीति बनाएका थिए।
ओली पक्षलाई ‘चित्त बुझ्ने’ गरी राम्रो भाषण गर्नेमा लेखराज भट्ट अगाडि आउँछन्। अरु नेता भने ओलीको पक्षमै भएपनि उनीहरुको हाउभाउ र लवज प्रचण्ड–नेपाल पक्षतिरै गएको भनेर ओलीनिकट नेताहरुले असन्तुष्टि पनि जनाउने गरेका छन्।
युवा तथा खेलकुदमन्त्री दावा तामाङले त एक सार्वजनिक कार्यक्रममा ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड’ भनेरै बोलेपछि हलमा सहभागीबीच हाँसोको फोहोरा छुटेको थियो। उनले तत्काल ‘अध्यक्ष केपी ओली’ भनेर सच्याएका थिए।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिलो पटक ओली पक्षको कार्यक्रममा सहभागी भएको पुस ९ गतेको बालुवाटारको केन्द्रीय कमिटी बैठकमा पनि यस्तै भयो। थापा बालुवाटारमा बोल्दा ओली पक्षको भेलामा बोलेको हो कि प्रचण्ड–नेपाल पक्षको भन्नेबारे ‘कन्फ्यूज’ हुने गरी शब्दचयन गरेका थिए। त्यो विषयलाई लगत्तै प्रचण्डले कार्की पार्टी प्यालेसको पत्रकार सम्मेलनमा ‘कार्की पार्टी प्यालेसका लागि तयार पारेको भाषाको ड्राफ्ट बालुवाटारमा सुनाएको’ भन्दै व्यङ्ग्य गरेका थिए।
अझै पनि पूर्वमाओवादी समूहका नेताहरूले ओलीको ‘स्पिरिट’लाई समात्न नसकेको भन्दै असन्तुष्टि जनाउने गरेका छन्। पूर्वमाओवादी समूहका नेताहरुलाई नै प्रचण्ड–नेपाल पक्षको विरोधमा बोल्न लगाएर ओली थप बलियो हुने रणनीतिमा लागेको एकथरीको बुझाई छ। तर, ओलीनिकट रहेका नेकपाको यो समूहका स्थायी कमिटी सदस्य लेखराज भट्टले आफूले अमर्यादित रुपमा कसैका विरुद्ध गालीगलौज नगरेको दाबी गरे। ‘मैले त यसरी गालीगलौज गरेको छैन, अमर्यादित भएर कसैका विरुद्ध बोल्या छैन,' भट्टले भने, ‘बरु लालगद्दार कसरी लेखिन्छ, लेखाइन्छ त्यो हेरिरहेकै छौं।’
ओलीले आफूसँग तानेका पूर्वमाओवादी नेताहरुमा यसअघि सांसद बनेका र पार्टी ‘पोर्टफोलियो’ भएकालाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ।
प्रचण्डले पार्टी एकता गरेको बाटोलाई आफूले इमान्दारीपूर्वक नसमातेको भन्दै भट्टले ओलीको समर्थन गरे। ‘राजनीतिमा एउटा संस्कार हुनुपर्छ। भोलि एउटै ठाउँमा होइएला, नहोइएला, त्यो बाटो राख्नुपर्छ। अहिले प्रतिगमनकारी भनेर ढुंगामुढा गर्ने र कालो झण्डा देखाएर सडकमा जानु राम्रो होइन,’ भट्टले भने, ‘सडकबाट कुर्लेर अराजक भिड खडा गरेर संघीयता बच्दैन। गणतन्त्र बच्दैन। देशको हिता हुँदैन। देश अस्थिरतातिर जान्छ।’
आफ्नो घर भत्काएर ठूलो घर बनाउने मान्छेले अहिले त्यही ठूलो घरलाई फेरि भत्काउनु पर्छ भनेको उल्लेख गर्दै भट्टले प्रचण्डलाई प्रतिप्रश्न गरे, ‘प्रचण्डले ठूलो घर भत्काएर गर्न खोजको निर्माण हो कि ध्वंस?’
पूर्वमाओवादी फकाउने अस्त्र मन्त्री
नेकपा फुट्नुअघि पार्टीमा पैदा भएको अप्ठेरोबीच प्रधानमन्त्री ओलीले शुरुमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको नजिक रहेका नेताहरूलाई आफूतिर तान्ने रणनीति बनाएका थिए। नेपाल समूहका नेतालाई तान्न नसकेपछि भने उनले प्रचण्ड समूहमा नजर लगाए। त्यहाँभित्र उनले अवसर नपाएका र आर्थिक रुपमा समस्यामा परेका नेताहरुलाई ‘टार्गेट’ गरे। उनीहरुलाई एकएक गरेर बालुवाटार बोलाए। पटक–पटक कुरा गरे। मन्त्री बनाउने लोभ देखाए। यसले कैयौं नेतालाई तरंगित पार्नु स्वाभाविक थियो।
ओलीले आफूसँग तानेका पूर्वमाओवादी नेताहरूमा यसअघि सांसद बनेका र पार्टी ‘पोर्टफोलियो’ भएकालाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ। त्यसपछि उनले मन्त्री हुने कल्पना नै नगरेका नेतालाई पनि मन्त्री बनाउने वाचा गरे।
जस्तो कि, सांसद नै नभए पनि मणिचन्द्र थापालाई स्थायी कमिटीको ‘पोर्टफोलियो’ हेरेर खानेपानी मन्त्रीको जिम्मेवारी दिए। त्यस्तै, प्रदेश सभा सदस्यमा पराजित दावा तामाङले पनि मन्त्री बन्ने अवसर पाए। उनी पार्टी (नेकपाको) केन्द्रीय सदस्य भएकाले आफ्नो समूहलाई बलियो पार्न ओलीले मन्त्री बनाएका हुन्।
प्रचण्डको साथ छाडेर ओलीसँग जाने पूर्वमाओवादीका सांसद जम्मा तीन जना थिए- टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरी। उनीहरु तीनै जनालाई मन्त्री बनाइयो। रायमाझी उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री, साह शहरी विकासमन्त्री र चौधरी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री बनेका छन्।
रायमाझी र साहको केन्द्रीय राजनीतिमा राम्रै पोर्टफोलियो रहेपनि चौधरी भने प्रदेश कमिटी सदस्य मात्र थिए। नेकपाको सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने यसअघि प्रचण्ड समूहबाटै मन्त्री बनेका र पार्टी विभाजन हुने स्थिति आएपछि ओलीतिर लागेका थिए।
प्रचण्डलाई छाड्ने, ओली रोज्ने कारण
यसअघि मन्त्रिपरिषद् पुनर्गठनबारे चर्चा र तयारी हुँदा प्रचण्डले थापा र भट्टलाई मन्त्रीबाट हटाउने सूचीमा राखेका थिए। त्यहीकारण उनीहरु प्रचण्डसँग बिच्किएर ओलीनजिक पुगेको बताइन्छ। ओलीले उनीहरु दुवैलाई मन्त्रीमा निरन्तरता मात्र दिएनन्, बरु नयाँ जिम्मेवारी र आश्वासनसमेत दिएका छन्। थापालाई पार्टीको दोस्रो वरीयताको नेता बनाउने आश्वासन ओलीले दिएका छन् भने भट्टले सुदुरपश्चिमको इन्चार्ज पाइसकेका छन्।
प्रचण्डलाई छाडेर ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरुका आ–आफ्नै कथा छन्। एउटै ‘स्कुलिङ’बाट आएका उनीहरुको गुनासो पनि एकैखाले छ- ‘प्रचण्डले हेरेनन्। समान अवसर दिलाएनन्।’ सबैको गुनासोलाई ओलीले एकमुष्ठ रुपमा मन्त्री बनाएर सम्बोधन गरेपछि उनीहरुले प्रचण्डको साथ छाडे। हिजो अरु मुद्दासमेत भए पनि मन्त्री बनेपछि ती सबै मुद्दा छोपिएका छन्।
अहिले ओलीको समूहमा गएका पूर्वमाओवादी नेतामध्ये सबभन्दा पहिले प्रचण्डको साथ छाडेका रामबहादुर थापा ‘बादल’ हुन्। उनले प्रचण्डलाई २०६९ सालमै छाडेर मोहन वैद्य ‘किरण’तिर लागेका थिए। त्यसबेला उनले प्रचण्डलाई संशोधनवादी मात्र भनेनन्, भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट भएको आरोपसमेत लगाएका थिए। यति गम्भीर आरोप लगाएका थापा चार वर्षपछि प्रचण्डसँगै फर्केका थिए। प्रचण्ड-बादल फेरि एउटै पार्टीमा भएपछि सबै नेता–कार्यकर्ताले दुबैको ‘मन मुटु मिलेको’ विश्लेषण गर्न थालिसकेका थिए।
प्रदेश २ बाट प्रचण्डको नजिक को हुने भन्ने हानथापमा मातृका र साहबीच लामै जुहारी चल्यो। अन्ततः ओलीले साहलाई मन्त्री बनाइदिए।
जब प्रचण्डले नै उनलाई गृहमन्त्रीको प्रस्ताव गरे, त्यहीँबाटै उनीहरुबीचको सम्बन्धमा खटपट शुरु भएको नेताहरु बताउँछन्। पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्डमध्ये कसको निर्देशन मान्ने भन्ने द्विविधा छँदै थियो, मन्त्री बनेपछि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको एउटा निर्देशन, अनि अर्का अध्यक्ष प्रचण्डले अर्कै निर्देशन दिन थालेपछि उनी चेपुवामा परे। मन्त्रीको पद जोगाउने कि प्रचण्डको निर्देशन मान्ने भन्नेसम्मको संकट आइलाग्यो, उनलाई।
उता आफ्नै पार्टीको गृहमन्त्री हुँदासमेत द्वन्द्वकालीन मुद्दा लागेकालाई पक्राउ गर्ने र सरुवा–बढुवामा समेत आफ्नो चासोको सुनुवाई नहुने अवस्थामा प्रचण्ड पुगे। यसले प्रचण्डलाई बादल आफूभन्दा ओलीको निर्देशनमा चल्न थालेको आभाष हुन थाल्यो। त्यसपछि उनलाई मन्त्रीबाट हटाउने खेल शुरु गरे।
यो थाहा पाएर बादलले प्रचण्डको साथ छाड्ने र ओलीसँग नजिकिने तयारी गर्नु अस्वाभाविक थिएन। त्यसमाथि उनीहरु दुईबीचको सम्बन्धमा आएको दरारमा ओलीले राम्रैसँग खेले। प्रचण्ड-बादल टाढिनुमा निर्वाचन क्षेत्र र पार्टीभित्रको हैसियत महत्वपूर्ण ‘फ्याक्टर’ रहेको नेताहरु बताउँछन्। प्रचण्ड र बादल दुवैको निर्वाचन क्षेत्र चितवन हो। चितवन माधवकुमार नेपालनिकट नेताहरु सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलको पनि क्षेत्र हो जहाँ बादल पछाडि नै थिए। यसले गर्दा उनलाई प्रचण्ड–माधव समूहभन्दा ओलीको समूहबाट निर्वाचन क्षेत्र सुरक्षित गर्न सजिलो हुन्थ्यो।
माधव नेपाललाई अध्यक्ष बनाउँदा प्रभु उछिट्टिए
दश वर्षे सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियामा आउँदासम्म प्रभु साह तत्कालीन माओवादीमा बाबुराम भट्टराई निकट थिए। बाबुरामले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि उनले प्रचण्डलाई साथ दिए। प्रचण्डको निकट भएर काम गरे। २०७३ सालमा मातृकाप्रसाद यादव एकता गरेर माओवादीमा फर्केपछि प्रचण्डसँग नजिकिए, त्यसपछि प्रचण्डसँग साहको खटपट शुरु भयो। प्रदेश २ बाट प्रचण्डको नजिक को हुने भन्ने हानथापमा मातृका र साहबीच लामै जुहारी चल्यो।
अन्तिममा मातृकाले त्यसमा बाजी मारे। तर, यति हुँदा पनि साहले प्रचण्डको साथ छोडेका थिएनन्। जब माधवकुमार नेपाल प्रचण्ड–माधव समूहको अध्यक्ष बने, साह बिच्किए। प्रचण्ड–माधव समूहको पहिलो केन्द्रीय कमिटी बैठक हुँदासम्म सहभागी भएका साहले बैठकमा नेपाललाई अध्यक्ष बनाउन नहुने आवाज उठाएका थिए। प्रचण्डले त्यसको सुनुवाई नगरेको भन्दै उनी ओलीसँग पुगेका हुन्।
माधवकुमार नेपाल र प्रभु साहको गृहजिल्ला रौतहट हो। जिल्ला एउटै हुनु उनीहरुबीचको सम्बन्धमा झमेला निम्त्याउने प्रमुख कारण हो। साहले गृहजिल्लामा नेपाललाई कमजोर बनाएर आफ्नो पकड बलियो बनाउँदै लगेपछि दुई नेताको विवाद झाँगिदै गएको थियो। यतिसम्म कि २०७० सालको निर्वाचनमा माओवादी २६ सिटमा खुम्चिँदा समेत साहले निर्वाचन जितेका थिए।
रावललाई प्रचण्डले च्याप्दा भट्ट ओलीतिर
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, प्रचण्डलाई निरन्तर साथ दिने नेतामा पर्छन्। साथ मात्र होइन, भट्टले व्यक्तिगत रुपमा आर्थिक सहयोगसमेत गरेको बताइन्छ। यसअघि माओवादी विभाजन हुँदा धेरैले प्रचण्डको साथ छाडे पनि भट्ट उनीसँगै थिए। प्रचण्डलाई छाडेर उनी ओलीतिर लाग्नु धेरैका लागि आश्चर्यको कुरा भएको थियो।
खुमलटार भन्दा बालुवाटारले धेरै ‘रेस्पोन्स’ गर्न थालेपछि भट्टको मन फेरियो।
भट्टले प्रचण्डलाई छाड्नुको कारण एउटै छ– सुदुरपश्चिम प्रदेशको क्षेत्रीय राजनीति। सबै प्रदेशमा नेकपाको इन्चार्ज र अध्यक्ष पूर्वएमाले–पूर्वमाओवादीबीच बाँडफाँट भए पनि सदुरपश्चिममा इन्चार्ज र अध्यक्ष दुबै पूर्वएमालेलाई दिइएको थियो। माओवादीमा हुँदा निरन्तर इन्चार्ज रहेका भट्ट, भीम रावल प्रदेश इन्चार्ज बनाइएपछि असन्तुष्ट बन्न थाले। रावल इन्चार्ज हुँदा शुरुका दिनमा उनीहरुको सम्बन्ध ठिकठाक नै थियो। जब सुदुरपश्चिममा रावल सिनियर कि भट्ट भन्ने बहस कार्यकर्ता तहबाटै उठ्न थाल्यो, त्यसले समस्या निम्त्यायो।
त्यहीबीच धनगढीमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘अब सुदुरपश्चिम प्रदेशको नेता भीम रावल’ भनेपछि समस्या बढ्नथाल्यो। त्यो अभिव्यक्तिलाई लिएर भट्टले प्रचण्डसँग सार्वजनिक रुपमै असन्तुष्टि पोखे। भट्टले आफ्नो असन्तुष्टि राख्न लामै समय खुमलटार धाए। तर, खुमलटार भन्दा बालुवाटारले धेरै ‘रेस्पोन्स’ गर्न थालेपछि भट्टको मन फेरियो।
यसमा स्वार्थ ओलीको पनि थियो। ओली चाहिँ भट्टलाई भीम रावलविरुद्ध प्रयोग गर्ने बलियो अस्त्र बनाउन चाहन्थे। त्यहीअनुरुप ओलीले गोकुल बाँस्कोटा मन्त्री हुँदा उनलाई परिचालन गरे। त्यसक्रममा बाँस्कोटाले एक रात कैलालीस्थित भट्टकै निवासमा बिताएका थिए। आफ्नो कुरा राख्न प्रचण्डभन्दा ओली सहज भएपछि भट्ट ओलीतिर लागेको पूर्वमाओवादीका नेताहरु बताउँछन्।
रायमाझीको गुनासो– प्रचण्डले मलाई नजिक ठानेनन्
लामो समय बाबुराम भट्टराईलाई साथ दिएका टोपबहादुर रायमाझीको गुनासो अवसर नपाएको भन्ने होइन। बाबुरामले माओवादी छाडेपछि उनले पनि प्रचण्डलाई नै साथ दिएका थिए। बाबुरामलाई छाडेर प्रचण्डलाई साथ दिए पनि आफूलाई गुटको नेता सम्झेर कहिल्यै नजिक नराखेको रायमाझीको गुनासो छ।
चार पटक मन्त्री र चार पटक सांसद भएका रायमाझीको २०७४ सालको निर्वाचन जितेलगतै मन्त्री हुने अपेक्षा थियो। केही गर्दा पनि मन्त्री हुन नपाएपछि उनी प्रचण्डबाट टाढिँदै गए। रायमाझीको मनोविज्ञान बुझेका ओलीले मन्त्री बनाउने आश्वासन दिएपछि उनी प्रचण्डलाई छाड्न तयार भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।