काठमाडौं- एसिड आक्रमणबाट पीडित भएका २ जना युवतीलाई नेपाल आयल निगमले १ वर्षे करार सम्झौतामा जागिर दिएको छ। एसिड आक्रमणबाट पीडित ओखलढुङ्गाका फुलबारी ३ की पवित्रा कार्की र नवलपरासी अर्ग्यौली ९ की बसन्ती परियारलाई निगमले पुस १६ देखि कामकाजमा खटाएको हो।
निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती युवतीलाई करार सेवामा जागिर दिएको जनाएको छ। ‘तेजाब आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा ती दुई जना निगमको सम्पर्कमा आएका थिए,’ निगमले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।
उनीहरुले आफ्नो कमजोर आर्थिक अवस्था र शरीरमा भएको एसिडको जलनका कारण अन्य शारीरिक कामहरु गर्न नसक्ने अवस्थामा रहेको र जीवन निर्वाह तथा नियमित औषधीको जोहो गर्न कठिनाइ भएको व्यहोरा खुलाई आफ्नो योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन निगममा निवेदन दिएका थिए। ती निवेदनमाथि निगम व्यवस्थापन र निगम सञ्चालक समितिमा छलफल भएपछि करार सेवामा जागिर दिने निर्णय भएको हो।
उनीहरुलाई समाजमा स्थापित गराउन र जीवनयापन सहज बनाउन एक जिम्मेवार संस्थाको सामाजिक उत्तरदायित्व पनि रहने भन्दै निगम संचालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।