काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १५ गते राजधानीमा आयोजित एक भेलालाई सम्बोधन गर्ने क्रममा भने, 'कालीबहादुर खामहरू कता छन्?'
प्रधानमन्त्री ओली प्रहरीका आँखामा 'फरार अपराधी' खामलाई पक्रेर सजाय दिलाउन खोजिरहेका थिएनन्, उल्टो पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई अलपत्र पारेकोमा सहानुभूति प्रकट गरिरहेका थिए।
प्रधानमन्त्री ओलीले राज्यको नजरमा फरार रहेका खामप्रति सहानुभूति देखाइरहँदा यता पीडित रमिला श्रेष्ठलाई भने खाटा बस्नै लागेको घाउ कोट्याएर नुनचुक छर्के जस्तो भइरहेको छ।
बिस्मृतितिर धकेलिन लागेका सम्झना र खाटा बस्नै लागेको घाउ बल्झिएर उनलाई फेरि विक्षिप्त बनाइरहेको छ। श्रीमानको हत्यापछि आफैंलाई सम्हालिरहेकी उनले अनामनगरस्थित युनिक रेस्टुरेन्टमा मंगलबार भेट हुँदा आफूलाई सम्हाल्न सकिनन्। धेरै वर्ष लगाएर ओठमा ल्याउन खोजेको मुस्कान अचेल फेरि गायब भएको छ र ओभाएका आँखा फेरि भिज्न थालेका छन्।
नेपाल लाइभसँगको भेट र कुराकानीमा आँशुसँग शब्द मिसाउँदै अनुभूति सुनाइन्, 'निको हुन लागेको घाउ फेरि कोट्याएर रगत बगेजस्तो भएको छ। यो जुनीमा न्याय नपाउने भएँ जस्तो लागिरहेको छ।'
प्रधानमन्त्रीले त्यसरी खामप्रति सहानुभूति जनाएको दिनदेखि नै उनी बेचैन छिन्। कुनैबेला प्रधानमन्त्री ओली माओवादीका कटु आलोचक थिए। भाषणमा रमिलाका श्रीमान् रामहरि श्रेष्ठको हत्याको विषयलाई लिएर माओवादीलाई गाली गर्थे। त्यसैले उनलाई लाग्थ्यो, 'उहाँ त माओवादी विरोधी हो नि। उहाँ सरकारमा आउनुभयो भने न्याय दिलाउनुहुन्छ।' किनभने त्यो समय प्रधानमन्त्री ओली 'खामलाई माओवादीले संरक्षण गरिरहेको छ, एकदिन समातिन्छ' भन्थे।
ओली निकटस्थ नेताहरु महेश बस्नेत, निरु पाल लगायतले नेतृत्व गरेको युवा संघले श्रेष्ठको हत्याका दोषीलाई कारबाहीको माग गरिरहेकी रमिलालाई सडकमा पुगेर साथ दिए। त्यही साथमा हात मिलाउँदै रमिला युवा संघको केन्द्रीय सदस्य बनिन्।
राजनीति उनको रुचिको विषय थिएन। आफ्ना श्रीमानको न्यायका लागि उनी जुनसुकै हदसम्म पुग्न सक्थिन्। त्यसैको एउटा उपक्रम थियो यो। उनलाई लागेको थियो, 'नेताहरु चिनिन्छ। त्यसले न्याय पाउन सजिलो हुन्छ।'
उनले सुनेकी थिइन्, राजनीति फोहोरी खेल हो। आफैंले नजिकबाट नियालेपछि थाहा भयो, भन्नेले सही भनेका रहेछन्। पीडितका पीडा अनुभूत गरेर राजनीतिज्ञहरु सहयोगको हात बढाउने रहेनछन्, उनीहरुलाई त 'अजेन्डा' न चाहिने रहेछ। रामहरि श्रेष्ठ हत्याकान्डको 'अजेन्डा'मा टेकेर उचाइ बढाएका केही नेता छन्। उनीहरुसँग पनि सुरुमा केही आशा थियो, तर त्यो निराशामा परिणत भएको पनि केही समय भइसक्यो। अचेल उनलाई लाग्छ, 'राजनीति त अरुका दु:ख र पीडामाथि टेकेर अग्लो बन्ने ठाउँ रहेछ।'
उनीहरुका निहित स्वार्थमा आफूहरु प्रयोग भएको महसुस गर्छिन्। तत्कालीन नेकपा एमालेले माओवादीविरोधी माहोल बनाउन उनीसँग सहकार्य गर्यो। युवा संघ सडकमा उनीसँगै थियो। माधव नेपाल प्रधानमन्त्री भएका बेला रमिलालाई घरमै पुगेर भेटे। ओलीले पनि त्यो बेला रमिलासँग भेट्दा पटक–पटक आश्वासन दिए।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनलाई खुसी लागेको थियो। 'अब दुवै दलका शीर्ष नेताहरु एकै ठाउँ आइपुगे। कम्युनिष्ट एक भए न्याय पाउँछौं भन्ने सोचेकी थिएँ,' उनले भनिन्।
एक हुँदा पनि केही गरेनन्। फेरि छुट्टिए। तर पनि उनको आशा मरिसकेको थिएन। तर अहिले सुनिरहेकी छिन्- 'खामले त प्रधानमन्त्री ओलीलाई भेटे। गृहमन्त्री रामबहादुर थापा बादलले नै लिएर प्रधानमन्त्री ओलीसँग भेट गराए। केन्द्रीय सदस्य बनाइँदै छन् रे।'
त्यसपछि न्याय पाउने झिनो आशा पनि मरेको अनुभूति गरिरहेकी छिन्। यतिबेला प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिको रोटी सेकाउन खामलाई स्मरण गरेपछि रमिलालाई सोध्न मन लागेको छ, 'प्रधानमन्त्रीले पद जोगाउन अपराधी संरक्षण गर्ने दिन आएको हो? प्रधानमन्त्री भनेको सबै जनताको अभिभावक हो भन्ने बिर्सिनुभएको हो?'
आत्मीय मात्रै नभई जीवनकै आड-भरोसा उजाडिएको यथार्थले रमिलालाई जीवनभर पछ्याउने नै छ। तर पीडितलाई अदालतले तोकेको दण्डले आफ्नो मनमा लागेको घाउ पुर्ने 'एन्टिबायोटिक'को काम गर्थ्यो भन्ने उनलाई लाग्छ। आँशु पुछ्दै भनिन्, 'न्याय पाएको भए घाउ खाटा बस्थ्यो, नपाएसम्म यस्तै हो।'
रामहरि श्रेष्ठको हत्या भएको १२ वर्ष भयो। नेपालीमा उखान छ- १२ वर्षमा त खोलो पनि फर्किन्छ। बितेको समय र मान्छे फर्केर आउने कुरा भएन। आशा न्यायकै हो।
२०६५ साल वैशाख १५ गते कोटेश्वरबाट व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिइयो। श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिबिरमा पुर्याइएको थियो। श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको थियो। श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर शक्तिखोर पुर्याइएको थियो। श्रेष्ठ फर्किने आशा गरेर बसेको परिवारले २०६५ वैशाख २८ गते बिहान नारायणी नदीमा शव फ्याँकिएको खबर पायो।
उनको मृत्युपछि श्रीमती रमिलाले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। गाेबिन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो। उक्त मुद्दामा सुनुवाइ गर्दै २०६८ जेठ १७ गते फैसला भयो।
जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। त्यो पुनरावलोकन प्रक्रियामा छ। खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा अदालतले मुल्तबीमा राखेको छ। मुद्दा चलेदेखि नै अदालतमा उपस्थित नभएका खाम राज्यका नजरमा 'फरार अभियुक्त' हुन्।
आफूले किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान होस् भन्ने चाहना पीडितको हुन्छ। अन्यायमा परेको मान्छेले न्यायको आशा गर्नु स्वभाविक हो। वर्षका ३६५ दिन गन्ने हो भने पनि न्यायको गुहारमा ७ वर्ष र व्यवसाय र परिवारका लागि बाँकी ५ वर्ष समय दिए जस्तो लाग्छ उनलाई।
'नधाएको ठाउँ रहेन। नभेटेको नेता रहेन। भनसुन नगरेको ठूलो मान्छे छैन। ज्ञापनपत्र नदिएको गृहमन्त्री छैन,' उनले अनुभव सुनाइन्, 'सामान्य केस भए त बिर्से होलान् भन्नु। भेट्दै नभेटेको भए थाहा भएन होला ठान्नु। कसरी बिर्सेका होलान्?'
श्रीमान् जीवित हुँदासम्म रमिला विशुद्ध गृहिणी थिइन्। उनलाई बाहिरको कुनै काम थाहा थिएन। देशको राजनीतिसँग कुनै लेनादेना थिएन।
मारिएपछि उनीमाथि एक्कासि दुई सन्तानको अभिभावकत्व, श्रीमानले चलाएको रेस्टुरेन्ट र न्याय खोज्नुपर्ने बाध्यता आइलाग्यो। उनले सम्झिइन्, 'छोराछोरी सम्हाल्नुपर्ने, बुबाआमाको ख्याल राख्नुपर्ने, रेस्टुरेन्ट चलाउनुपर्ने र कहिले चितवन, कहिले हेटौंडा धाउनुपर्ने, आन्दोलन गर्नुपर्ने एकै पल्ट आइलाग्यो। सुरुमा निकै आत्तिएँ तर परेपछि सिकिँदोरहेछ, सिकें।'
जीवनमा आइलाग्ने बाध्यताहरुसँग सम्झौता हरेकले गर्नुपर्छ। रमिलाले पनि गरिरहेकै छिन्। उनको प्रश्न छ, 'यो देशमा अब न्यायसँग पनि सम्झौता गर्ने दिन आएको हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।