काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले युवा जनशक्ति र भारत तथा चीनको विशाल अर्थतन्त्र नै नेपालको समृद्धिको आधार भएको बताएका छन्। महासंघको स्टार्टअप एन्ड इन्नोभेसन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्टअप एण्ड इनोभेसन समितिले पूर्णता पाएको छ। जसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य चयन भएका छन्। यसैगरी सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाईं, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेका छन्।
साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ सोनर गोम्सर र कविराज जोशी रहनेछन्। समितिको सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यमा ओम राजभण्डारी, सौरभ ज्योति र अनिल चित्रकार छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले भने, ‘नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै हो। यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरने युवा शक्तिलाई पर्याप्त रोजगारी सिर्जना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको छ।’
युवा जनशक्तिको बाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थिति नै समृद्धिको बलियो आधार भएको उनको दाबी छ। यसका लागि स्टार्टअपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको गोल्छाले बताए।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने बताए।
साथै उनले महासंघले आफ्ना सबै समिति फोरमको परिचालन गरी मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सिर्जनामा काम गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।