काठमाडौं- खानेतेलको मूल्य बढाएर बिक्री वितरण गर्ने बाराका २ उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। कारबाही पर्नेमा अन्नपूर्णा भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाईनरी प्रालि रहेको विभागले जनाएको छ।
उत्पादन लागत र उद्योगले पाउनेपर्ने नाफाको तुलनामा अत्याधिक खरिद मूल्य (एमआरपी) तोकेर बजार पठाएको भेटिएपछि विभागले कारबाही गरेको हो। विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार दुवै कम्पनीलाई जनही ३ लाख रुपैयाँ जरिवाना गरेको छ भने उत्पादन लागतअनुसार वास्तविक मूल्य कायम गर्न पनि निर्देशन दिइएको छ।
पछिल्लो समय सूर्यमुखी र भटमासको तेलमा अत्याधिक मूल्यवृद्धि देखिएपछि विभागले २१ वटा तेल उद्योगहरु, तिनका गोदाम र खुद्रा पसलमा समेत गई अध्ययन गरेको थियो। विभागले १ महिना लामो समयदेखि अध्ययन र अनुगमन थालेपनि खानेतेलमा मूल्य बढ्नुको कारण भेटाउन सकेको थिएन। उद्योगीहरुले तेलका लागि आवस्यक पर्ने कच्चा पदार्थको मूल्य बढेका कारण लागत मूल्य पनि बढेको बताउँदै आएका थिए।
भन्सार विभागबाट कच्चा पदार्थ आयात भएको तथ्यांक लिएर अध्ययन गरेपछि मात्रै तेल उद्योगीहरुले उत्पादन लागतभन्दा निकै बढी एमआरपी राखेर बजार पठाउने गरेको विवरण वाणिज्य विभागले फेला पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।