काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने निर्णय गरेको छ। आइओसीको उक्त निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयबाट खरिद गर्नुपर्ने भएको छ।
आयल निगमका अनुसार सुरक्षाको कारण देखाउँदै पछिल्लो २ वर्षदेखि भारतले उक्त डिपो बन्द गर्न लागेको नेपाललाई बताउँदै आएको थियो। रक्सौल डिपोबाट लोड लिई निगमको शाखा कार्यालय वीरगंजबाट बिलिङ गर्दै आएका पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने भएको हो।
अहिले मोतीहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन पूर्ण क्षमतामा संचालन हुन सकेको छैन। इन्डियन आयल कर्पोरेसनको मोतीहारी डिपो निर्माणको क्रममा रहेकाले पाइपलाइन पूर्ण क्षमतामा संचालन हुन नसकेको हो।
गत डिसेम्बरमा अमलेखगंज डिपोबाट १ लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको थियो। यसरी रक्सौल डिपो बन्द हुने र अमलेखगंज डिपोमा चलिरहेको निर्माण कार्यका कारण पाइपलाइनबाट पनि पूर्ण क्षमतामा पेट्रोलियम पदार्थ आपूर्ति नहुने भएपछि निगमले यस्तो वैकल्पिक व्यवस्था गरेको हो।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताहरुले पेट्रोलियम पदार्थ डिलर्स एसोसियसनको समन्वयमा नेपाल आयल निगमसँग वार्तापछि गरी २ नम्बर प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति जनाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।