काठमाडौं- दैनिक ५ अर्ब रूपैयाँको वैदेशिक व्यापार हुन थालेको छ। कोभिड-१९ को प्रभाव न्यून हुँदै जाँदा बजारमा वस्तुको माग बढ्न थालेकाले आयातमा दबाब बढेको हो। कोभिड-१९ को प्रभाव बढ्दै जाँदा वैदेशिक व्यापार घट्दै गएको थियो। चैतपछि दैनिक करिब ५ अर्ब रूपैयाँको आयात पुसमा भएको हो।
भन्सार विभागको तथ्यांकअनुसार गत पुसमा १ खर्ब ४६ अर्ब रूपैयाँको कूल वैदेशिक व्यापार भएको छ। पुसमा आयात १ खर्ब ३५ अर्ब ७४ करोड रूपैयाँ बराबरको भएको छ। गत वर्षको पुसको तुलनामा यो वर्षको वैदेशिक व्यापार १९.६६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष पुसमा १ खर्ब १३ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो।
पुसमा कूल १० अर्ब ७४ करोड रूपैयाँको निर्यात भएको छ। यो निर्यात गत वर्षको पुसको तुलनामा ११.१८ प्रतिशतले धेरै हो। अघिल्लो पुसमा ९ अर्ब ६६ करोड रूपैयाँको निर्यात भएको थियो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले बजारमा वस्तुको माग बढ्दै जाँदा त्यसले आयात बढाएको उल्लेख गरे। 'कोभिड-१९ को प्रभाव कम हुँदै जाँदा आन्तरिक बजारमा वस्तुको उत्पादन र माग दुवै बढ्न थालेकाले समग्र वैदेशिक व्यापार पहिलेकै अवस्थामा फर्किएको देखिन्छ,' महानिर्देशक दाहाल भन्छन्, 'पुसमा दैनिक औषत ५ अर्ब रूपैयाँको वैदेशिक व्यापार हुँदा राजस्व संकलनमा पनि त्यसले सकारात्मक प्रभाव पारेको छ।'
आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्मको अवधिमा आयात ४.८१ प्रतिशतले घटेको छ। यो अवधिमा ६ खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको विभागले जनाएको छ। गत वर्षको यो अवधिमा ६ खर्ब ९४ अर्ब रूपैयाँको आयात भएको थियो।
आयात घटे पनि निर्यात भने बढेको छ। पुससम्ममा ६.१५ प्रतिशतले निर्यात बढेर ६० अर्ब ७९ करोड पुगेको छ। गत वर्षको पुससम्ममा ५७ अर्ब २७ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। पुससम्मको अवधिमा १ खर्ब ९७ अर्ब रूपैयाँ राजस्व भन्सारबाट संकलन भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।