काठमाडौं- बहुप्रतिक्षित जलविद्युत् आयोजना अरुण तेस्रोको शिलान्यासमा ऊर्जामन्त्री वर्षमान पुनलाई बाइपास गरिएको छ। शिलान्यास मात्र होइन द्वीपक्षीय वार्तामा समेत समावेश नगरेपछि ऊर्जामन्त्री पुन प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन्।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार द्वारिकाज होटलबाट स्विच थिचेर ९ सय मेगावाटको अरुण तेस्रोको संयुक्त रुपमा शिलान्यास गरेका थिए।

शिलान्यासअघिको द्वीपक्षिय वार्तामा पनि ऊर्जामन्त्री पुनलाई सहभागी गराइएको थिएन। जबकि मन्त्रालयका दुई सचिव अनुप उपाध्याय र सुमन शर्मा सो वार्तामा उपस्थित थिए। आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्रको आयोजनाको शिलान्यासमा आफूलाई जानकारी नै नगराएपछि ऊर्जामन्त्री पुन प्रधानमन्त्रीसँग रुष्ट भएको स्रोत बताउँछ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेबिएन) सँग लगानी बोर्डले अरुण तेस्रो बनाउने सम्झौता गरेको थियो। बैठकमा सचिवलाई सहभागी गराउने तथा मन्त्रीलाई जानकारी नै नदिइएकोमा ऊर्जा मन्त्रालयका कर्मचारीले आश्चर्य व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।