काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले बुधबार एकै पटक नवौ र दशै वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारण सभाले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ। यसै वर्षको मुनाफाबाट २ प्रतिशत बोनस शेयरको प्रस्ताव पनि पारित गरेको छ। उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५.२५ प्रतिशत बराबरको बोनस शेयरको प्रस्ताव पनि पारित गरेको हो।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ।
साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ८२.४२ अर्व रुपैयाँ र कर्जा रकम ६६.९३ अर्ब रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।