काठमाडौं- खानेतेल लगायत केही खाद्यान्न वस्तु र निर्माण सामग्रीमा देखिएको अत्यधिक मूल्यवृद्धिबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो १ महिना बढी समयदेखि अध्ययन थालेपनि कुनै स्पष्ट कारण भने भेटाउन सकेको छैन। विभागले अनुगमन टोली खटाएर साना व्यापारी तथा गोदाममा अध्ययन गर्नेदेखि उद्योगहरुलाई नै बिजबिजक माग्दा पनि मूल्यवृद्धिको कारण भेटाउन नसकेको हो।
बजार अनुगमनका क्रममा भेटिएका विवरण र उद्योगीहरुले बुझाएका प्रज्ञापन पत्र तथा बिलबिजकहरुमाथि चित्त नबुझेपछि विभागले तेल उद्योग र छड उद्योगहरुले विदेशबाट आयात गरेको कच्चा पदार्थसम्बन्धी विवरण भन्सार विभागमार्फत झिकाउने भएको छ। वाणिज्य विभागले मंगलबार भन्सार विभागलाई पत्र काट्दै तेल उद्योग र छड उद्योगले गत साउन महिनायता विदेशबाट आयात गरेको वस्तुको प्रज्ञापनपत्रसम्बन्धी विवरण माग गरेको हो।
विभागले व्यापारीहरुसँग पनि खरिद बिक्री बिलबिजक र वस्तु आयातको प्रज्ञापनपत्र मागेर अध्ययन गरेको थियो। तर ती विवरणहरु चेकजाँच गर्दा पनि विभागले मूल्य बढ्नुको कारण भेट्न सकेको छैन। ‘उद्योगीसँग बिलबिजक माग्नेदेखि उनीहरुले भन्सारबाट लिएको प्रज्ञापनपत्रसमेत मागेर अध्ययन गरिरहेका छौं। तर पछिल्लो समय कच्चा पदार्थको मूल्य बढेको र उत्पादन लागत पनि बढेकाले बजार मूल्यमा वृद्धि भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ‚’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने‚ ‘सबै विवरणहरुको वास्तविक अध्ययन पछिमात्रै कारण के हो भन्ने निष्कर्षमा पुग्छौं।’
विभागले छड व्यवसायी र खानेतेल व्यवसायीलाई उनीहरुले पछिल्लो समय खरिद गरेको कच्चा पदार्थ, उत्पादन लागत र उत्पादित वस्तुको मूल्यसहितको विवरण उपलब्ध गराउन भनेको थियो। २१ वटा तेल उद्योगमध्ये बुधबार सम्ममा १६ वटाले आफ्नो विवरण बुझाएका छन्। त्यस्तै १९ वटा छड उद्योगहरुलाई पनि विवरण बुझाउन विभागले पत्राचार गरेको छ। प्रवक्ता सेढाईंका अनुसार उत्पादन लागत र बजार मूल्यबीचको अन्तर तथा मूल्यवृद्धिबारे विस्तृत अध्ययन गर्नका लागि व्यवसायीहरुसँग विवरण मागिएको हो।
यी वस्तुको मुल्यवृद्धिबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले समेत चासो देखाएको छ। बजारमा खाद्यान्न र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढेको गुनासो बढेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई बोलाएर बजार अवस्थाबारे जानकारी लिएको हो।
मुख्यसचिव, अर्थसचिव, गृहसचिव, वाणिज्य सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवहरु समेत रहेको बैठकमा वाणिज्य विभागको टोलीले अहिले केही वस्तुको बजार मूल्य बढेको र त्यससम्बन्धी अध्ययन भइरहेकोबारे ब्रिफिङ गरेको थियो।
खाद्यान्न वस्तुमध्ये सबैभन्दा बढी मूल्यवृद्धि खानेतेलमा देखिएको छ। अघिल्लो वर्षको यहि अवधिको तुलनामा खानेतेलमा प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म वृद्धि देखिएको छ। त्यस्तै हरियो केराउ, चामल र विदेशबाट आयात हुने बिस्कुटमा पनि मूल्यवृद्धि भएको विभागको भनाइ छ। निर्माण सामग्रीहरुमा सिमेन्टबाहेक सबै वस्तुको मूल्यवृद्धि देखिएको छ। निर्माण व्यवसायी महासंघले मंगलबार मात्र विभागलाई मुल्यवृद्धि नियन्त्रणमा राख्न पहल गर्न भन्दै ज्ञापनपत्र बुझाएको छ।
खानेतेलमा पनि सुर्यमुखी (सनफ्लावर) र भटमास (सोयाबिन) को तेल मात्रै बढेको छ। तोरीको तेलमा मुल्यवृद्धि छैन। सनफ्लावर र सोयाबिन उत्पादन गर्ने कम्पनीले अहिले भारतको बजारलाई प्राथमिकतामा राखी निर्यात गर्न थालेका छन। यसकारण पनि बजारमा मागअनुसार आपूर्ति नभएपछि मूल्य बढेको विभागको विश्लेषण छ। खानेतेलका व्यापारीले अन्तर्राष्ट्रिय बजारमा प्रतिमेट्रिक टन ७ सय ५० अमेरिकी डलर देखि १ हजार २ सय ५० अमेरिकी डलरसम्मको तथ्यांक विभागलाई बुझाएका छन्। सनफ्लावर र सोयाबिनको तेलका लागि व्यवसायीहरुले युक्रेन, रसिया, अर्जेन्टिनादेखि अस्ट्रेलियासम्मबाट कच्चा पदार्थ आयात गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।