काठमाडौं- कोभिड-१९ को विश्वव्यापी महामारी अवधिमा पनि नेपाल भित्रिने रेमिट्यान्स करिब ११ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको हो।
रेमिट्यान्स वृद्धि भएर चालु आवको पहिलो ५ महिनामा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो।
यसवर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी डलरमा ३ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो।
यता विदेश जानेको संख्या भने घट्दै गएको देखिएको छ। मंसिर महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७८ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।