काठमाडौं- भारतबाहेक अन्य मुलुकबाट आयात प्रतीतपत्र (एलसी) खोल्दा नेपालकै बीमा कम्पनीबाट बीमा गर्नुपर्ने भएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन २०७६ मा संसोधन गर्दै नेपाली बिमा कम्पनीहरूलाई प्राथमिकता दिन निर्देशन जारी गरेको हो। यसका साथै प्रतीतपत्र खोल्दा नेपाली ढुवानी सेवा प्रदायकलाई नै प्राथमिकता दिन समेत भनिएको छ।
यस अगाडिको एकिकृत निर्देशनमा पनि सम्भव भएसम्म नेपाली बीमा कम्पनीबाट बीमा गराउनु पर्ने व्यवस्था थियो। विभागले उक्त एकीकृत निर्देशनलाई संसोधन गर्दै 'सामान आयात गर्दा बीमा र ढुवानी सम्बन्धी सेवाहरु लिँदा सम्भव भएसम्म नेपाली सेवा प्राथमिकता दिनु पर्नेछ' भन्ने वाक्यांश थप गरेको हो।
भारत बाहेक अन्य मुलुकबाट प्रतीतपत्रमार्फत् आयात गर्दा प्रचलित व्यवस्थाका अतिरिक्त यो व्यवस्थालाई पनि पालना गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।