कपडा उद्योग। सांकेतिक तस्बिर काठमाडौं- कोभिड-१९ का कारण लकडाउन हुँदा देशभर ६१.०३ प्रतिशत व्यसाय सञ्चालन हुन नसकेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। केन्द्रीय बैंकले गरेको सर्वेक्षणअनुसार कोभिडको प्रभावले जम्मा ४.१ प्रतिशत उद्योग मात्रै पूर्णरूपमा सञ्चालनमा आएका छन्।
केन्द्रीय बैंकका अनुसार अझै पनि ९.१ प्रतिशत व्यवसाय सञ्चालनमा आउन सकेका छैनन्। गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ।
कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको राष्ट्र बैंकको भनाइ छ।
यो अवधिमा मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको पनि राष्ट्र बैंकको प्रतिवेदनमा जनाइएको छ। मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग/व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका केन्द्रीय बैंकको अनुमान छ।
२०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ। यो सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ। कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति योसर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।