काठमाडौं- उपभोक्ताका गुनासामाथि संवेदनशील बन्न नेपाल विद्युत प्राधिकरणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ। सोमबार विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीलाई यस्तो निर्देशन दिएको हो।
प्राधिकरणले विद्युत आपूर्ति व्यवस्थापन देखिएका समस्या, वितरण प्रणालीका अवरोध र त्यसले अघोषित रूपमा निम्त्याएको विद्युत कटौतीको समस्याबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ब्रिफिङ गरेको थियो।
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख हरराज न्यौपानेका अनुसार पछिल्लो समय विद्युत कटौतीसम्बन्धी ग्राहकका गुनासा धेरै आउनुको कारणबारे प्रधानमन्त्री कार्यालयले प्राधिकरणसँग जानकारी लिएको थियो।
ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित प्राधिकरणको टोलीले विद्युत आपूर्तिसम्बन्धी वर्तमान अवस्थाबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएको थियो।
‘विद्युत वितरण प्रणालीलाई अझ भरपर्दो र सहज कसरी बनाउने भन्ने सन्दर्भमा छलफल भएको हो। अहिले समस्याहरु के के छन् र ती समस्यालाई कसरी व्यवस्थापन गर्ने विषयमा छलफल भयो। हाम्रो अवस्था र अब भविष्यका योजनाबारे जानकारी गरायौं,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयले पनि उपभोक्ताका विद्युत माग सम्बन्धी गुनासालाई सम्बोधन गर्न अझ तदारुकताका साथ लाग्न भनेको छ।’
वितरण प्रणालीलाई कसरी स्तरोन्नति (अपग्रेड) गर्ने, ट्रान्समिसन, सबस्टेसन निर्माण र मर्मतसम्भारको कामबारे प्राधिकरणले प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएको न्यौपानेको भनाइ छ।
प्रधानमन्त्री कार्यालयले सोधेको प्रश्नमा प्राधिकरणले के जवाफ दियो? भन्ने नेपाल लाइभको प्रश्नमा न्यौपानेले गतवर्षको विद्युत कटौतीको अवस्था र यो वर्षको अवस्था कस्तो छ भनेर जानकारी गराएको बताए।
‘जनताको अपेक्षा बढेको छ। विद्युत प्रणालीलाई भरपर्दो हुनुपर्छ भन्दैगर्दा प्राधिकरणका पनि केही बाध्यता छन्। विभिन्न कारणले ट्रिपिङ र सटडाउनका समस्या आउँछन्। जस्तो, सडक विस्तारको क्रममा, खानेपानीको पाइप बिच्छाउने क्रममा बत्ती काट्नुपर्छ,’ उनले भने, ‘प्राधिकरणले वितरण प्रणालीलाई स्तरवृद्धि (अपग्रेड) र मर्मतसम्भारका काम गर्नका लागि पनि सटडाउन गर्नुपरेको भनेर विश्वस्त बनायौं।’
प्रधानमन्त्रीको कार्यालयले प्राधिकरणलाई विद्युत कटौतीका मामिलामा उपभोक्ता संवेदनशील (सेन्सेटिभ) रहेको र पछिल्लो समय अझ त्यो बढेकाले चनाखो र चुस्त गतिमा काम गर्न भनेको छ।
‘यी सबैकुरालाई व्यवस्थापन गर्नु ठूलो चुनौती छ। तर उपभोक्ताको संवेदनशीलतालाई सकारात्मक रुपमा लिएर यसलाई अवसरका परिणत गर्नुपर्छ। हामी राम्रो गर्न प्रयासरत छौं भन्यौं,’ न्यौपानेले भने।
प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियासँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।