काठमाडौं- नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थ बिक्रेताको कमिसन बढाउनुपर्ने माग राखेको छ। पेट्रोलियम व्यवसायीको कमिसन तत्काल नबढे माघ १ गतेबाट स्वघोषित रुपमा प्रतिलिटर ५० पैसा बढाउने धम्की पनि उनीहरुले दिएका छन्।
पेट्रोलियम व्यवसायीहरुले हाल पेट्रोलमा ३ प्रतिशत र डिजलमा २.६५ प्रतिशत कमिसन पाईरहेका छन्। तर उनीहरुको माग न्यूनतम डिजलमा ४.५ र पेट्रोलमा ४.५५ कमिसन कायम गरिनु पर्ने र त्यसलाई समयानुकुल पुनरावलोकन गर्दै जानुपर्ने भन्ने रहेको छ। उपभोक्तालाई थप भार नपर्ने गरी नेपाल आयल निगमको संचित कोषबाट उक्त कमिसन दिइनुपर्ने व्यवसायीहरूको भनाई छ।
एसोसिएसनका अनुसार पेट्रोलियम व्यवसायीले अहिलेको आम्दानीबाट व्यवसाय संचालन गर्न आर्थिक रुपमा कठिन भएको भन्दै कमिसन वृद्धिको माग राखेका हुन्।
हालको लागत खर्च, व्यवसाय संचालन खर्च, मजदुरहरुको सेवा सुविधा वृद्धि, मुद्रास्फिति दर र पूर्वाधार स्तरोन्नति, ब्याजदर तथा राजश्वका दरमा भएको वृद्धिलगायत कारण व्यवसाय संचालनमा समस्या परेको उनीहरुको भनाइ छ।
पेट्रोलियम पदार्थको कारोबारमा देशभर १ हजार ५ ६१ जना व्यवसायी संलग्न छन। ३ वर्षअघि नै पेट्रोलियम व्यवसायीले आफ्नो ‘लगानी तथा ऋण, आय–व्यय हिसाब र प्रशासनिक खर्चको विवरणसम्बन्धी अध्ययन प्रतिवेदन निगमलाई बुझाईसकेको बताएका छन।
नेपाल आयल निगमले व्यवसायीहरुको लगानीको अनुपातमा प्रतिफल पाउनेगरी कमिसन तोक्न पहल गरिने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आईतबार निगमको ५१औं वार्षिकोत्सव समारोहमा पनि पेट्रोलियम व्यवसायीहरुको कमिसन समायोजन गरिने बताएका थिए।
समयानुकुल र वैज्ञानिक पद्धतिमार्फत निगमका सम्पूर्ण बिक्रेता तथा ढुवानीकर्ताको संचालन खर्चहरुलाई लगानीको अनुपातमा प्रतिफल प्राप्त हुने गरी समय सापेक्ष बनाईनेछ,’ उनले भने। ‘यस सम्बन्धमा सरोकारवाला निकायहरुबाट समय समयमा पेश भएको मागपत्रहरुको उचित सम्बोधन गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।