काठमाडौं- कैलालीको धनगढी भन्सारमा मालवस्तुको मूल्यांकनका लागि सूचना प्रविधि प्रणालीको शुभारम्भ भएको छ। भन्सार विभागका महानिर्देशक सुमन दाहालले नयाँ प्रणालीको शुभारम्भ गरेका हुन्।
त्यसक्रममा महानिर्देशक दाहालले भन्सारको प्रभावकारिता वृद्धि गर्ने गरी काम गर्न पनि निर्देशन दिएका छन्। उनले भन्सारका कर्मचारीलाई गल्ती गर्ने छुट नभएको भन्दै सचेत र गम्भीर भएर आफ्नो कर्तव्य पुरा गर्न पनि निर्देशन दिए।
सुदूरपश्चिमका विभिन्न नाका अवलोकनका क्रममा महानिर्देशक दाहालले कञ्चनपुर भन्सारमा यात्रु कक्षको उद्घाटन गरेका छन्। उनले भन्सार कार्यालयका कर्मचारीहरुलाई राजस्व संकलनमा प्रभावकारिता ल्याउन पनि निर्देशन दिएका छन्।
महानिर्देशक दाहालले चाँदनी दोधारामा निर्माणाधीन सुख्खा बन्दरगाहको अवलोकन पनि गरेका छन्। त्यहाँ नेपालतर्फ चार लेनको बाटोसहित महाकाली नदीमा पुल निर्माणको कार्य अन्तिम चरणमा रहेकाले सुख्खा बन्दरगाह निर्माणमा ढिलाइ नहुने र यसको लागि आफूले समन्वय गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।
आइतबार महानिर्दशक दाहालले धनगढीस्थित त्रिनगर भन्सारको अवलोकनको क्रममा नवनिर्मित कर्मचारी आवास भवनको उदघाटन पनि गरेका छन्। उनले यो भन्सारमा पूर्वाधार निर्माणमा कुनै कसर बाँकी नराख्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।