काठमाडौं- नेपाल आयल निगम आजबाट ५१औं वर्षमा प्रवेश गरेको छ। निगमको वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पूर्वाधार निर्माण, प्रविधिको प्रयोग र पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको बताए।
‘पूर्वाधारमा भइरहेको तीव्र विकासले गर्दा पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङ्कको दरले वृद्धि हुदै गरेकोले छ‚’ पौडेलले भने।
‘माग र आपूर्तिबीच तालमेल कायम गर्न संचयको लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गर्दै जाने नीति लिएको छ।’
निगमले यसै आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नंम्बर प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारण गृहको निर्माण शुरु गरेको छ। त्यस्तै पाइपलाइन विस्तार तथा झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज-चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी-झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिको लागि जग्गा प्राप्तीजस्ता पूर्वाधार विकासमा विशेष जोड दिइएको कार्यकारी निर्देशक पौडेलले बताए। ‘गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित आपूर्तिबाट आम उपभोक्ताको जीवनलाई सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य हो‚’ उनले भने।
निगमले हाल संचालनमा रहेको मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल समेतको आयात गर्ने प्रक्रिया शुरु गरिसकेको छ। पेट्रोलियम पाइपलाइनमार्फत हाल डिजलमात्र आयात भइरहेको परिप्रेक्ष्यमा अबको २ वर्षभित्र पाइपलाइनबाट पेट्रोलसमेत ल्याउने तयारी गरिएको छ।
एलपी ग्यासको ढुवानीका लागि इण्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सीमा नजिकको क्षेत्रबाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरिएको पौडेलले बताए।
‘थप पाइपलाइन क्षमताको विस्तार तथा मौजुदा संरचनाबाटै डिजलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत् मात्रै गर्ने व्यवस्था मिलाउने हाम्रो तयारी छ‚’ उनले भने‚ ‘मेकानिकल लकिंगबाट डिजिटल लकिंग, टैंकरहरुको नियमित अनुगमन, डिलरहरुको डिजिटल नक्सांकन गर्ने कार्यको सुरुवात गरिएको छ।’
पौडेलले प्रविधिमैत्री कार्यप्रणालीको विकासमा जोड दिँदै कागजविहीन कार्यालय संचालन, प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालको पहुँचलाई अभिवृद्धि गर्दै सुशासन कायम गर्ने प्रयास निगमले गरेको पनि बताए। त्यस्तै कर्मचारीलाई कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार तथा कार्य क्षमतामा आधारित जिम्मेवारी बाँटफाँटमा पनि विशेष ध्यान दिइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।