काठमाडौं- भुक्तानी प्रणाली सेवा प्रदायक स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैंकबीच भुक्तानी र फर्छ्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैंकको यस सहकार्यबाट समग्र डिजिटल इको सिस्टमको विकासमा थप योगदान पुग्न जाने बैंकले जनाएको छ।
धनकुटामा मुख्यकार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत् सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ।
स्मार्टच्वाइस टेक्नोलोजिजसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ। एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पिओएस, ई-कमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ।
आइतबार स्मार्टच्वाइस टेक्नोलोजिजको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।