काठमाडौं- झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (नक्कली भ्याटबिल) प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले विभिन्न १४ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा २ वटा मुद्दा दर्ता गरेको छ। विभागले न्यू सयपत्री इन्टरप्राइजेज सहित १३ फर्मविरुद्ध र संकित जनरल सप्लायर्सविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको हो।
न्यू सयपत्रीका संचालक, प्रोप्राइटर तथा मुख्य अभियुक्त गरी १५ जनाबाट १ अर्ब ३४ करोड ९५ लाख बिगो कायम गर्दै विभागले मुद्दा दायर गरेको विभागले जानकारी दिएको हो।
नक्कली भ्याट बिल बनाई राजस्व छली गरेको आरोपमा बारा जिल्ला सिमरा पिपरा- १ बस्न बस्ने न्यू सयपत्री इन्टरप्राईजेजका प्रोप्राइटर विवेक मगरसहित अन्य १३ वटा फर्मका १५ जना संचालक र प्रोप्राइटर छन्। उनीहरु विरुद्ध १ अर्ब २२ करोड २० लाख १९ हजार रुपैयाँ बराबर बिगो कायम गरिएको छ।
यी १३ वटै फर्मका मुख्य कारोबारी मनिष कुमार हुन्। न्यू सयपत्री इन्टरप्राइजेजले कमजोर आर्थिक अवस्था भएका तथा मजदुर लगायतका व्यक्तिको नाममा कम्पनी दर्ता गरि विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बिजक जारी गरी आर्थिक वर्ष २०७१/२०७२ देखि २०७३/२०७४ सम्ममा मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेको पाइएको विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, नक्कली भ्याटबिल बनाई राजश्व छली गरेकै कसुरमा विभागले सर्लाही जिल्ला बलरा गाउँपालिका-२ बस्ने संकित जेनेरल सप्लायर्स प्रालिका संचालक सुबोध साहबाट १२ करोड ७५ लाख ५१ हजार ६ सय १४ रुपैयाँ बिगो असुल माग गर्दै मुद्दा दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।