काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गराउन नहुने बताएका छन्। शुक्रबारदेखि काठमाडौँमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताएका हुन्।
'हिजो म महासंघमा हुँदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति माग सम्बोधनका विषयमा दबाबसमेत दिइयो, तपाईंहरुका समस्याहरु केके छन् समाधन गर्न म सहयोग गर्छु,' उनले भने, 'सरकार व्यवसायीको साथमा छ, समस्याको समाधान गर्ने जिम्मा मेरो भयो।'
महासङ्घका अध्यक्ष मोहनकृष्ण विश्वकर्माले व्यावसायिक वातावरण नहुँदा खुम्चिएर व्यवसाय सञ्चालन गर्नुपरेको बताए। सरकारले सुनको कारोबार गर्न दैनिक कोटा तोकिँदा खुला रुपमा व्यवसाय गर्न नपाएको भन्दै पुराना संस्कृति, परम्परा र इतिहास कायम राख्न व्यवसायीलाई सहयोग गर्न उनले आग्रह गरे।
'विसं २०६६ देखि हामी व्यवसायीलाई सुनको कारोबार गर्न कोटा तोकिएको छ, शुरुआति दिनहरुमा दैनिक २० किलो सुनको विक्री वितरणको अनुमति भएकोमा हाल घटाउँदा घटाउँदै १० किलोमा झारिएको छ, बजारमा माग धेरै छ, तर हामीसँग तोकिएको परिमाण मात्र बेच्ने अनुमति छ,' उनले भने।
उनले सुनचादीँ व्यवसायमा मात्र देशभर रु ५० अर्ब बढी लगानी भएको र वार्षिक रुपमा रु १२ अर्ब बढी राजश्व बुझाउँदै आएको उल्लेख गरे।
महासङ्घको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। नयाँ कार्यसमिति चयन शनिबार हुने महासङ्घले जनाएको छ। सबै पदमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको तयारी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।