काठमाडौं- नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। दुई संस्थाबीच बिहीबार प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। बिहीबार दुवै संस्थाका अध्यक्षहरुले सहमतिपत्र मा हस्ताक्षर गरेका हुन्। नेपाल फाइनान्सको हालको चुक्ता पुँजी ३१ करोड रुपैयाँ रहेको छ भने ललितपुर फाइनान्सको चुक्ता पुँजी २४ करोड रुपैयाँ रहेको छ।
नेपालकै पहिलो फाइनान्स नेपाल फाइनान्सलाई नेपाल राष्ट्र बैंकले एक वर्ष अगाडि समस्याग्रस्त सूचिबाट हटाएको थियो। आन्तरिक रूपमै ऋण परिचालन गरेको, धितो मूल्यांकनभन्दा बढी ऋण दिएको जस्ता कारणले फाइनान्स २०७१ मंसिर १७ मा समस्यामा परेको थियो। समस्या ग्रस्त सूचिमा परेकाले फाइनान्सले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार क्यापिटल प्लानमा जान सकेको थिएन।
समस्या ग्रस्त सूचि परेको फाइनान्सले २०७६ पुस २ गतेदेखि कारोबार फुकुवा गरिदिएको थियो।
नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई पनि २०७४ मंसिरमा समस्याग्रस्तबाट मुक्त गरेको थियो। नयाँ लगानीकर्ताले ह्याण्डओभर गरेपछि राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई समस्याग्रस्त सूचिबाट हटाएको थियो। राष्ट्र बैंकले २०७१ साल पुसमा ललितपुर फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो।
ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुनेछ । नेपाल फाइनान्सकै संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन्। स्वाप रेशियो डिडिएले निर्धारण गरेको अनुपातमा प्राप्ति गर्न र समाहित हुन दुवै पक्ष सहमत भएका छन् ।
नेपाल फाइनान्सको २ शाखा छन् र थप ६ शाखा तथा २ एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयमा रहेको छ। ललितपुर फाइनान्सको ३ वटा शाखा संचालनमा छन्। प्राप्तिपछि जम्मा शाखा संख्या १३ पुग्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।