काठमाडौं- तारागाउँ रिजेन्सीले १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। होटलको उक्त प्रस्ताव आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।
होटलको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ। होटलले १८ करोड ८६ लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो। होटलले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाशिक अपरिस्कृत वित्तीय विवरणअनुसार १६ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। तर चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणअनुसार ७ करोड ८९ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ।
हाल दोस्रो बजारमा होटलको बजार मूल्य २९५ रुपैयाँ रहेको छ। कोभिड-१९ का कारण होटल व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ।
विदेशी पर्यटकको आवागमन ठप्प हुँदा यस्ता होटलको आम्दानी हुनै सकिरहेको छैन। आम्दानी नहुँदा होटलहरुले कर्मचारी कटौती गरिरहेका छन्। कतिपय होटलले भने आन्तरिक पर्यटकलाई आकर्षित गर्नेगरी सस्तो प्याकेज ल्याइरहेका छन्।
गत आर्थिक वर्षको ८ महिना होटल खुला रहदा मुनाफा बाड्न सकेको यस होटलले चालु आर्थिक वर्षमा भने लाभांश वितरण गर्न गाह्रो पर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।