काठमाडौं- १० करोड रुपैयाँभन्दा बढीको पुँजी र कारोबार भएका सहकारी संस्थालाई ‘गो–एएमएल’ प्रणाली अनिवार्य रुपमा लागू गर्न सहकारी विभागले परिपत्र गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपाल र अन्तर्राष्ट्रिय कानूनको सहकारी क्षेत्रमा पनि परिपालना गराउनका लागि विभागले यस्तो परिपत्र गरेको हो।
विभागले गरेको परिपत्रअनुसार २०७८ साउन देखि १० करोड रुपैयाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरुले गो–एएमल सफ्टवेयर प्रणालीमार्फत् नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा आफ्नो विवरण बुझाउनुपर्नेछ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरीएको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम सबै सहकारी संस्थाहरुले सीमा कारोवार प्रतिवेदन (टिटिआर) र शंकास्पद कारोवार प्रतिवेदन (एसटिआर) पनि राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ। अब १० करोड रुपैयाँभन्दा बढी बचत परिचालन गर्ने, बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरुले संस्थाको नाम, ठेगाना, दर्ता नम्बर र कारोवार रकमको विवरणसहितको सूचि सहकारी विभाग र राष्ट्र बैंकमा बुझाउनुपर्नेछ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६-२०८१) को उद्देश्य प्राप्तिका लागि विभागले यस्तो निर्णय गरेको पनि परिपत्रमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।