काठमाडौं- छिनछिनमा विद्युत जाने (ट्रिपिङ) समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा गत मंसिर महिनामा मात्र ३ सय ४७ पटक ट्रिपिङ भएको छ। काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको देखिछ। गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो।
प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित/अघोषित रुपमा विद्युत कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको भनाइ छ। शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्नेलगायतका प्राविधिक कारणले केही क्षेत्रमा विद्युत कटौती भएको उनले बताए।
‘अहिलेसम्मको तथ्यांक हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ। विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’ उनले भने‚ ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ।’
शाक्यले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको पनि बताए। स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यको भनाइ छ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि पछिल्लो समय घटेको छ। गत वर्षको मंसिरमा यी काम गर्न ४ सय ९१ पटक विद्युत आपूर्ति बन्द (सटडाउन) गरिएकोमा यस वर्ष ३ सय ६२ पटकमात्रै गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।