काठमाडौं- खाने तेल र सिमेन्ट, छड, पेन्ट, पाइपलगायत निर्माण सामग्री अत्यधिक मूल्यवृद्धि देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ती वस्तुहरुको उत्पादन लागत र बजार मूल्यको अध्ययन थालेको छ।
विभागले सिमेन्ट तथा छड व्यवसायी र खाने तेल व्यवसायीलाई उनीहरुले पछिल्लो समय खरिद गरेको कच्चा पदार्थ, उत्पादन लागत र उत्पादित वस्तुको मूल्यसहितको विवरण उपलब्ध गराउन भनेको छ।
विभागका प्रवक्ता शिवराज सेढाईंकाअनुसार उत्पादन लागत र बजार मूल्यबीचको अन्तर तथा मूल्यवृद्धिबारे विस्तृत अध्ययन गर्नका लागि व्यवसायीहरूसँग विवरण मागिएको हो।
‘मूल्यवृद्धि कृत्रिम हो, कि प्राकृतिक रुपमा मूल्य बढेको भनेर गहिराइमै गएर अध्ययन गर्नुपर्ने हुन्छ। खानेतेल र निर्माण सामग्रीको मूल्य बढेको विषयमा व्यवसायीहरुले विवरणहरु बुझाएका छन्,’ सेढाईंले भने, ‘उनीहरुले दिएको कागजात हामी अध्ययन गरिरहेका छौं। उद्योगमै गएर अध्ययन गर्नुपर्ने पनि हुनसक्छ।'
विभागले व्यवसायीसँग मूल्यवृद्धिको कारण माग गरेको थियो। तर मौखिक जवाफबाट चित्त नबुझेपछि लिखित रुपमै कारण पेस गर्न विभागले निर्देशन दिएको छ।
‘व्यापारीहरुले उद्योगबाटै महँगोमा सामान आएका कारण बजार मूल्य बढेको बताएका छन् भने उद्योगहरुले कच्चा पदार्थमै मूल्य बढेको र उत्पादन लागत बढेको बताएका छन्,’ प्रवक्ता सेढाईंले भने, ‘प्रारम्भिक रुपमा छलफल गर्दा उनीहरूले वस्तुको आयातमा नै महँगो भयो भनेका छन्। हामी थप अध्ययन गर्दैछौं।’
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ५ महिना अवधिमा गैर खाद्य वस्तुभन्दा खाद्य वस्तुको मूल्यवृद्धि अत्यधिक बढेको छ। त्यस्तै निर्माण सामग्रीको मूल्यमा पनि वृद्धि देखिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
अहिले छडमा गत वैशाखको तुलनामा प्रतिकिलो ५ रुपैयाँ देखि १० रुपैयाँ वृद्धि देखिएको छ। त्यस्तै खानेतेलका सबैजसो ब्रान्डमा गत वैशाखयता मात्रै प्रतिलिटर १० देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ। गतवर्ष चैतमा सनफ्लावर तेल प्रतिकार्टुन १ हजार ४ सय ५० रुपैयाँमा बिक्री वितरण भइरहेको थियो। अहिले त्यही कार्टुनलाई उपभोक्ताले १ हजार ७ सय देखि १ हजार ९ सय रुपैयाँ सम्ममा तिरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।