काठमाडौं–दैनिक उपभोग्य वस्तु खाने तेलको मूल्य निरन्तर रुपमा बढिरहेको छ। केही समयअघिसम्म प्रतिलिटर १ सय ६० देखि १ सय ७० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर प्रतिलिटर २ सय रुपैयाँदेखि २ सय ५ रुपैयाँ पुगेको छ।
बजार सनफ्लावर तेलका विभिन्न ब्रान्ड छन्। ब्रान्ड अनुसार ५ रुपैयाँ देखि १० रुपैयाँसम्म फरक रहेको छ।
यसैगरी तोरीको तेलको मूल्य पनि बढेको छ। केही समय अगाडिसम्म प्रतिलिटर १ सय ६० रुपैयाँ पर्ने तोरीको तेलको मूल्य अहिले १ सय ८० रुपैयाँसम्म पुगेको छ।
तोरीको तेल पनि बजारमा विभिन्न ब्रान्डको पाइन्छ। यसैगरी, भटमासको तेलको मूल्य पनि प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ। केही समय अगाडिसम्म बजारमा प्रतिलिटर १ सय ५० रुपैयाँ रहेको भटमासको तेलको मूल्य अहिले बढेर १ सय ७० देखि १ सय ७५ रुपैयाँसम्म पुगेको छ।
‘खाने तेलको मूल्य नेपालमा मात्रै बढेको हैन,’ एक उद्योगीले भने, ‘विश्व बजारमा नै कच्चा पदार्थको मूल्य बढेको छ। विश्व बजारमा तेलको मूल्यमा आएको वृद्धि अनुसार नेपालमा भने बढेको छैन।’
नेपालमा भन्दा भारतमा तेलको मूल्य अहिले आकाशिएको छ। जसका कारण व्यापारीले तेल भारततर्फ निर्यात गरिरहेका छन्। भारततर्फ निर्यात बढ्दा नेपाली बजारमा सनफ्लावर तेलको अभावसमेत हुने थालेको एक उद्योगीले बताए। केही समय अगाडिसम्म विश्व बजारमा ८ सय डलर पर्ने कच्चा पदार्थको मूल्य अहिले बढेर १ हजार ४० डलर पुगेको छ। जसको कारण भन्सारदेखि ढुवानी भाडासमेत बढ्दा उद्योगको उत्पादन खर्च नै बढेको व्यवसायीहरुको तर्क छ। एक व्यवसायीका अनुसार तेलको मूल्य अझै बढ्नसक्नेछ । तर, अन्य वस्तुको जस्तो तेलको मूल्य ह्वात्तै नभई विस्तारै बढिरहेको व्यवसायीहरु बताउँछन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।