काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटी कर विवरण पेश गर्ने समय ३ महिना थप्नका लागि आग्रह गरेका छन्। उद्यमी व्यवसायीहरुले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको सावाँ ब्याज भुक्तानी गर्ने समय बढाउन अर्थमन्त्रीलाई आग्रह गरेको महासंघले जनाएको हो।
गत वर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक वर्षमा झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरीक्षण समयमै गर्न नसकेको भन्दै अर्थमन्त्रीसँग विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन व्यवसायीले आग्रह गरेका छन्।
अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँगको वार्तामा सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षणसमेत गराएको छ।
मंगलबार महासंघद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ‚ ‘भेटवार्तामा महासंघका तर्फबाट उद्यमी व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेपनि गत वर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक वर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरीक्षण समयमै गर्न नसकेको यथार्थता अर्थमन्त्री समक्ष राख्दै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरियो।’
भेटमा महासंघका तर्फबाट बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरी साना मझौला उद्योग बढी प्रभावित भएको भन्दै ऋण तिर्न तोकिएको समय अपर्याप्त भएको बताइएको छ।
बैंकहरूले कालोसूचिमा राख्ने धम्की दिएका कारण म्याद नथपिएको खण्डमा ५० प्रतिशतभन्दा बढी साना मझौला उद्यम बन्द हुने अवस्थामा पुग्ने व्यवसायीहरूले अर्थमन्त्रीसँग स्पष्ट पारेका छन्।
भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, उद्योग समितिका सभापति भरत आचार्य, कर तथा राजस्व समितिका सभापति संदीप अग्रवाल, अर्थमन्त्रालयका वरिष्ठ अधिकारीहरू, महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी र उपनिर्देशक विदुरचन्द्र लामिछानेको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।