बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन्। बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरका रूपमा नलिई लगानी विस्तार हुन नसक्ने बताएका हुन्।
निजी क्षेत्रमैत्री नीतिका कारण पनि मलेसियाले छोटो समयमा विकास गरेका उनले उदाहरणसमेत प्रस्तुत गरेका हुन्। आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए।
'राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन,' उनले भने, 'राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ।' व्यवसायीजति सबै नाफाखोर मात्र हुन् भन्ने परम्परागत दृष्टिकोण कायमै रहेकाले देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न नसकेको उनको धारणा थियो।
नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको उनको भनाइ थियो। महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने उनको भनाइ थियो।
महासंघका देशैभरिका जिल्ला नगरका समस्या एकैखालका रहेका र आफूले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राका क्रममा यस्तै गुनासा र समस्याहरु सुन्ने गरेकाले ती समस्याको समाधानका लागि देशका स्थानीयदेखि प्रदेश सरकारको ध्यान दिनुपर्ने उनको धारणा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।