काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको बताएको छ। केही दिनदेखि बत्ती गएको गयै गर्न थालेपछि प्राधिकरणले यस्तो स्पष्टीकरण दिएको हो।
विभिन्न समाचारमाध्यममा बत्ती गएको गयै गरेकोबारे प्रकाशन भएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको प्राधिकरणले पुनः लोडसेडिङ नुहने प्रष्ट पारेको हो।
'विगत ३ वर्ष अघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको' प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नियमित मर्मत संभारका क्रममा केही स्थानमा विद्युत आफूर्ति कटौती गरिएको भने प्राधिकरणले स्वीकार गरेको छ। तर यसरी कटौती गर्दा लामो समय नगरिएको भनाइ प्राधिकरणको छ।
'विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने जस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै संचालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको छ,' प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।
पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय अवरोध आएको र हाल निराकरण गरिसकिएको पनि प्राधिकरणको दाबी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।