काठमाडौं- नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले प्रतिनिधिसभा विघटन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले अनिश्चितताको बाटो रोजेको आरोप लगाएका छन्। ओली सरकारको यो कदमले नेपालमा ठूलो आर्थिक क्षति हुने उनको टिप्पणी छ।
प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा जारी नागरिक आन्दोलनमा सहभागी भएका क्षेत्रीले सरकारको अहिलेको कदमले नेपालमा थेगिनसक्नु महँगी बढ्ने र आर्थिक अनिश्चितता निम्त्याउने बताएका हुन्।
‘कोभिडको यो संकटमा आर्थिक सुनिश्चितताका विषयमा धेरैले चासो दिएका छैनन्,’ उनले भने, ‘यही समयमा सरकारले प्रतिनिधिसभा विघटन गरेर अस्थिरतता र अनिश्चितताको बाटो रोजेको छ। यो कदमले नेपालमा ठूलो आर्थिक संकट निम्तिने खतरा छ भने महँगी पनि थेगिनसक्नु रुपमा बढ्ने छ।’
पूर्वगभर्नर क्षेत्रीले कोभिडको समयमा २ खर्ब भन्दा बढी आर्थिक क्षति भएको विभिन्न तथ्यांकले देखाएको उल्लेख गर्दै देशलाई आर्थिक भार थप्ने काममा सरकार लागेको आरोप लगाए।
‘कोभिडको यो समयमा नेपाल सरकारले नै सार्वजनिक गरिरहेको तथ्यांकअनुसार २ खर्ब जति आर्थिक रुपमा क्षति भएको छ। १२ लाख बेरोजगार भएका छन्। १५ लाख जति गरिबीको रेखामा धकेलिएका छन्,’ उनले भने, ‘यस्तो विषम परिस्थितिमा सरकारले यो कदम किन चाल्यो? कसैको लहडमा र कसैको घर जगडा नमिलेको कारण फेरि चुनावमा जानु भनेको नेपालमा थप आर्थिक भार थप्नु हो।’
उनले अब चुनाव गर्दा कम्तीमा पनि सरकारको ३१ अर्बभन्दा बढी खर्च हुने र सँगसँगै दलका नेता तथा विदेशबाट समेत आर्थिक चलखेल हुने भन्दै त्यसतर्फ गम्भीर हुनुपर्ने बताए।
‘सरकारले नै ल्याएको तथ्यांकअनुसार एक जना मतदाता बराबर ४ हजार ४० रुपैयाँ सरकारी खर्च भएको छ। त्यसैमा उम्मेदवारले खर्च गर्ने। त्योभन्दा पनि डरलाग्दो कुरा आउने चुनावलाई प्रभावित गरेर आफ्नो पक्षमा लग्नका लागि छिमेकी मुलुकले कति खर्च गर्छन् होला?’ प्रश्न गर्दै उनले भने, ‘त्यो समेत हिसाब गर्ने हो भने यसले हाम्रो अर्थतन्त्रलाई अनिश्चिताको बाटोमा लैजान मद्दत गर्छ। अब यो ढंगले चुनावमा खर्च गर्ने हो भने तपाईं-हामीले थेग्ने हिसाबले मूल्यवृद्धि रहनेछैन। यसले अनिश्चितता निम्त्याउने छ।’
प्रदर्शनमा बोल्ने क्रममा उनले प्रतिनिधिसभा विघटन गरेर सरकारले नेपाली जनतामाथि विश्वासघात गरेको पनि आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।