काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बुद्धको जन्मस्थल लुम्बिनीमा भइरहेको ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यवद्धता जनाएका छन्।
नेपालमा एक व्यक्ति १ रुपैयाँ र विदेशमा एक व्यक्ति १ अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण भइरहेको छ। लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाएका हुन। घिसिङले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरे।
यो अभियान गत कात्तिकमा सुरु गरिएको थियो। युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तराष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय रहनेछन्। त्यस्तै विभिन्न मुलुकका सोधकर्ताहरु रहने खोज अनुसन्धान केन्द्र रहनेछ। जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन्।
जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गरेका भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मूर्ति राखिने गरी डिजाइन गरिएको छ। अत्यधुनिक प्रविधि र सामग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ।
महायानी संप्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको एक सय २० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ। विश्वभरका बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो। लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।