काठमाडौं- देशमा रोजगारी वृद्धि गर्नका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने तथा देशमा स्थिर राजनीति कायम हुनुपर्ने सरोकारवालाहरुले औँल्याएका छन्। मंगलबार हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा रोजगारी सिर्जनामा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो कुरा औँल्याएका हुन्।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एव रोजगारदाता परिषदका अध्यक्ष रामचन्द्र संघाइले उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रबाट वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइरहेको बताए।
‘हामी भर्खरै निर्वाचित भएर आएका छौँ। नेपालका निजी औद्योगिक क्षेत्रबाट कसरी वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने भनेर हामी योजना बनाइरहेका छौँ,’ कार्यक्रममा बोल्दै उनले भने।
विदेशबाट रोजगारी गुमाएर फर्कने क्रम जारी रहेको र देशभित्रै पनि ठूलो संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाएका कारण रोजगारी गुमाएका तथा श्रम बजारमा आउने नयाँ श्रमिकहरुका लागि रोजगारी सिर्जना गर्न महासंघ सक्रिय रहेको उपाध्यक्ष संघाईले जोड दिए।
रोजगारी सिर्जनाका लागि हामी लगानीतर्फ जोड दिइरहेको बताउँदै यसमा सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
‘लगानी तथा रोजगारी सिर्जनाको सम्बन्ध नङ र मासुजस्तै हो। लगानी बढ्नेबित्तिकै रोजगारी बढ्छ,’ उपाध्यक्ष संघाई भन्छन्, ‘हामी लगानी गर्छौँ तर लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्यो।’
पछिल्लो समय कोरोना महामारीको चपेटासँगै राजनीतिक अस्थिरता बढ्दै गएको तथा यसले लगानीकर्ताको उत्साह र मनोबल घटाउँदै लगेको उनको भनाइ थियो। यसले गर्दा रोजगारी सिर्जनामा समेत कमि आउने उनको जोड थियो।
नेपालको श्रम बजारमा करिब ६० प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको उल्लेख गर्दै राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न लगानीमैत्री नीति ल्याउनुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय संघका अध्यक्ष परितोष पौडेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्ने सम्बन्धमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले देशमा रोजगार तथा स्वरोजगारका अवसरहरु वृद्धि गर्ने क्रममा अग्रसर रहेको दावी गरे।
‘हामीले दुई किसिमले रोजगारी सिर्जना गरिरहेका छौँ,’ उनले भने, ‘सहकारिले १ लाखभन्दा बढी प्रत्यक्ष र करिब ६ लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।’
मात्रात्मक रुपले हेर्दा यो निकै ठूलो रोजगारी सिर्जना रहेको उनको भनाई थियो। संघियताको कार्यान्वयन र वित्तीय संघीयताको प्रभावकारीता स्थिति नहुँदा आफूहरुसँग चुनौतीहरु रहेको र ती चुनौतीलाई चिर्दै हामीले सम्भावनाको खोजी गरिरहेको उनले जिकीर गरे। सहकारीमा तीनै तहमा एकरुपता प्रणाली लागू गरेर अगाडि बढ्न आवश्यक रहेको उनले औँल्याए।
‘बचत तथा ऋण सहकारी संस्थाको उपस्थिति मुलतः वित्तिय पहुँच र वित्तिय अवसर हो। यसलाई हामीले हाम्रो भाषामा वित्तीय समावेशीकरण भन्ने गरेका छौँ। वित्तीय समावेशीकरणमा आम नागरिकको पहुँच पुग्ने गरी हामीले काम गरिरहेका छौँ,’ संघका अध्यक्ष परितोष पौडेल भन्छन्, ‘यसका लागि आइएलओ र राष्ट्रिय युवा परिषद्सँग समन्वय गरेर ठूलो अभियान सुरु गरेका छौँ। त्यो अभियानभित्र हामीले १ लाख मान्छेहरुलाई स्वरोजगारी सिर्जना गर्ने उद्यमी बनाउने योजना अघि सारेका छौँ।’
पछिल्लो पटक राष्ट्रिय युवा परिषदसँग मिलेर करिब २० करोड पैसा बिना ब्याजमा युवा उद्यमशीलता विकासका लागि लगानी गरेको उनले जानकारी दिए।
त्यस्तै अन्तराष्ट्रिय श्रम संगठन (आइएलआ)े र युवा परिषदको साझेदारीमा उच्च स्तरका जनशक्ति उत्पादन गर्ने गरी प्रशिक्षकहरुलाई तालिम उपलब्ध गराउन सुरु गरेको उनले जानकारी दिए। जसका लागि पालिकाहरुसँग समेत समन्वय गरेर अगाडी बढेको उनको भनाइ थियो।
सहकारी अभियानले सामाजिकिकरण, पुँजी निर्माण, राष्ट्रिय समृद्धि, बचत परिचालन तथा ऋण प्रवाहको प्रकृयासँग जोडिएर योगदान पुर्याइरहेको उनको जोड थियो।
‘जिविकाको आधारभूत तहसँग जोडिएका छौँ। अहिले उद्यमशीलताको सन्दर्भमा कर्पोरेट मोडालिटीमा हामी जान सकेका छैनौँ। यसमा कानुनमा केही बाधाहरु छन्। त्यो बाधा फुकाउन पनि हामी प्रयत्न गरिरहेका छौँ। सहकारीले सिधै लगानी गर्न सक्ने अबस्था रहँदैन। आफ्ना सदस्यहरुमार्फत उद्यमशीलतामा लगानी गर्ने हो। उनीहरुलाई सीप विकास गर्ने तथा पुँजी प्रवाह गर्ने लगायत भूमिकामा हामी छौँ,’ उनले भने।
समग्रमा बचत तथा ऋण सहकारी अभियानमा ६ लाखभन्दा बढी उद्यमशिलता तथा स्वरोजगार सिर्जना गर्ने तयारी गरिएको तथा सिंगो सहकारी अभियानअन्तर्गत १० लाखभन्दा बढी स्वरोजगार सिर्जना भएको उनले जानकारी दिए।
त्यस्तै स्थानीय सरकारसँग समन्वय गरेर वैदेशिक रोजगारबाट फर्किएका तथा कोभिडका कारण सहरबाट गाउँ फर्किएकालाई गाउँमै स्वरोजगार सिर्जना गर्ने गरी अगाडी बढेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।