काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भटेको छ। टोलीले आइतबार राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेको हो।
सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि शुभकामना दिएकी थिइन्। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलालहिराचन सहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपति निवास पुगेको थियो।
महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको जानकारी राष्ट्रपतिलाई गराएको थियो। सो अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिए।
साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए। साथै उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराए।
लाखौं युवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसँग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपतिलाई जानकारी गराए।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।
भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जालगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकासमार्फत् आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्वलगायतका विषयमा जोड दिए।
महासंघका पदाधिकारीहरूले आफ्नो धारणा राखेपछि राष्टपतिले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन्। ‘देशमा पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं। बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन,’ राष्ट्रपतिको भनाइ उल्लेख गर्दै महासंघले जनाएको छ। रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ त्यसमा गम्भीर भएर लाग्न महासंघलाई राष्ट्रपतिले आग्रह गरिन्।
चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरिन्। ‘हर कुरामा हामी बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरूरी छ,’ राष्ट्रपतिको भनाइ उल्लेख गर्दै महासंघले भनेको छ, ‘स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र बाह्य लगानीसमेत आकर्षित हुने हुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्य आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।