काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा दिलसुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेशको चौथो प्रदेश सभाबाट कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यहरुका लागि भएको निर्वाचनमा उद्योग वाणिज्य क्षेत्रको उपाध्यक्षमा सविन श्रेष्ठ र वस्तुगत–एशोसिएट क्षेत्रको उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित भए।
यस्तै कोषाध्यक्षमा गुणराज श्रेष्ठ सर्वसम्मत चयन भए। कार्यकारिणी समिति सदस्यहरुमा श्याम थापा, कैलास पलाञ्चोके, शिव प्रसाद मानन्धर, जीवनकाजी माकजु श्रेष्ठ, हेमराज रिमाल र निर्वाचित भए। वस्तुगत क्षेत्रका कार्यकारिणी समिति सदस्यमा वीरेन्द्रनाथ भट्टराई, एशोसिएट क्षेत्रका कार्यकारिणी समिति सदस्यमा प्रदीपमान प्रधान चयन भए। प्रतिमा भट्टलाई कार्यकारिणी सदस्यमा मनोनयन गरिएको छ।
यसअघि प्रदेश अध्यक्षमा सुदर्शन कार्की र दिलसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भनिए पनि कार्कीले श्रेष्ठलाई समर्थन गरेपछि अध्यक्ष पदमा श्रेष्ठ निर्विरोध चयन भएको थियो। श्रेष्ठ धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रीय सदस्य हुन्।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको विभिन्न प्रदेशको शनिबार सम्पन्न वार्षिक साधारणसभा एवं निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न साधारणसभाबाट सुदूरपश्चिम प्रदेशबाट शंकर बोगटीको प्यानल नै निर्विरोध निर्वाचित भएकाे हाे। यसअघि पनि सुदूरपश्चिम प्रदेशको अध्यक्ष रहेका बोगटी पुनः निर्विरोध निर्वाचित भएका हुन्। सुदूरपश्चिमका सफल युवा उद्यमी बोगटीको विपक्षमा उम्मेदवारी नभएपछि निर्विरोध निर्वाचित भएका हुन्।
यसैगरी गण्डकी प्रदेशमा शनिवार सम्पन्न निर्वाचनमा सञ्जिव कोइराला अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी हरिओम शर्मा लामिछानेलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
गण्डकी प्रदेशका १६ जिल्लामध्ये १५ जिल्लाले मतदान गरेका थिए। जसमध्ये कोइरालाको पक्षमा ९ मत खसेको थियो। कुल मतभारमध्ये कोइरालाले ५४ र प्रतिशत शर्माले २६ प्रतिशत मत प्राप्त गरेका थिए। गण्डकी प्रदेशमा उपाध्यक्ष लगायतका प्यानलनै कोइराला पक्षमा उम्मेदवार निर्विरोध भए पनि अध्यक्ष पदमा भने निर्वाचन भएको थियो।
त्यस्तै उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनका लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो।
शाहीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको हो। समितिका उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार (जिल्ला–नगरबाट), सुर्खेतका प्रकाश उप्रेती (एशोसियटबाट) र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका हुन्।
एसोसियट सदस्यमा झविराज खत्री र सीताराम कार्की यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। जिल्ला–नगरका पाँच सदस्यमा कविराज कँडेल (सुर्खेत), कर्णबहादुर खत्री (जाजरकोट), दीपकराज खड्का (रुकुम पश्चिम), कृष्णप्रसाद कोइराला (दैलेख) र नामग्याल तामाङ (हुम्ला) निर्वाचित भएका हुन्।
प्रदेश १ मा भने उद्योग वाणिज्य महासंघको प्रदेश नेतृत्व चयनको प्रक्रिया रोकिएको छ। निर्वाचनको विषयलाई लिएर अदातलमा मुद्दा परे पनि निर्वाचन प्रक्रिया रोकिएको हो। त्यस्तै लुम्बिनी प्रदेश र प्रदेश २ मा समेत निर्वाचन स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।