काठमाडौं–अमेरिकाले नयाँ बजेटमा राहत प्याकेज ल्याउने तयारी गर्दैगर्दा सुनको मूल्यमा थप गिरावट आएको छ। कोभिडले थिलथिलो भएको अर्थतन्त्र उकास्ने गरि राहत प्याकेज ल्याउने अमेरिकाको तयारी छ। नयाँ बजेटसँगै सुनको भाउ थप खस्कने डरले लगानीकर्ताहरु नाफा बुक गर्न थालेका छन्। कतिपयले थप नोक्सानी रोक्न खोज्दा बजारमा सप्लाइ बढिरहेको छ।
कोभिड नियन्त्रण तथा रोकथाम गर्ने क्रममा लकडाउन गर्दा विश्वका धेरै मुलुकको आर्थिक गतिविधि सुस्ताएको छ। अमेरिका, बेलायत, रुस तथा चीनका कम्पनीले विकास गरेका कोरोनाविरुद्धको खोप आम जनसमुदायमा लगाउन अनुमति दिएसँगै आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ।
अमेरिकाले ९ खर्ब ८ अर्ब अमेरिकी डलरको कोभिड–१९ रिलिफ प्याकेज ल्याउने तयारी गरिरहेको छ। बाइपार्टिसन ग्रुपले कोभिड १९ बाट अर्थतन्त्रलाई उद्धार गर्न अमेरिकी कङ्ग्रेसलाई राहत प्याकेज ल्याउन दबाब दिएको थियो। अब नयाँ बजेटमा राहत प्याकेज आउने भएसँगै सुनको भाउ ओरालो झर्ने विश्लेषण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आइरहेको छ। शुक्रबार सुनको भाउ प्रति औंन्स १२ डलरले घटेको छ। सुन प्रति औन्स १८६६ डलरमा कारोबार भइरहेको छ। तीन साता अगाडि सुनको भाउ १७७८ डलरसम्म तल झरेको थियो।
सुनको मूल्यमा केहीसमयदेखि तीव्र उतारचढाव आइरहेको छ। मूल्य अझै तल झर्न सक्ने अनुमान गर्दै बिक्री भइरहेको छ। अर्कोतर्फ कोरोना भाइरसको प्रभाव अझै सकिएको छैन। कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहेकाले अझै केही समय यसले असर गर्ने हो कि भन्ने संशय पैदा भएको छ। यदि कोभिडको असर पुनः देखिन थाल्यो भने सुनको भाउ पुनः उकालो लाग्न सक्ने विश्लेषण गरिएको छ।
नेपाली बजारमा सुनको भाउ
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कारोबार भएको छ। एक साता अवधिमा सुनको भाउ एक सय रुपैयाँले मात्रै घटेको छ। एक महिनाको अवधिमा भने सुनको भाउ ९० हजार रुपैयाँमा आइपुगेको थियो। नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा तय हुन्छ। यो समय नेपाली बजारमा सुनको खासै व्यापार हुँदैन। विवाहको सिजनमा सुनको अत्याधिक बिक्री हुने गरे पनि अन्य समयमा खासै कारोबार हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।