काठमाडौं- २०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षति भएको धरहराको २०औं तलाको निर्माणको काम सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २०औं तलाको निर्माणको काम सम्पन्न भएको बताएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २०औं तलामा बारदली बनाउने काम भइराखेको बताए। त्यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने उनको भनाइ थियो।
धरहरामा कुल २३ तला रहने पनि ज्ञवालीले बताएका थिए। यस्तै धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले उल्लेख गरे। त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलयलगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइराखेको छ।
जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको निर्माण भइरहेको छ। प्राधिकरणका सिइओ ज्ञवालीले यसै आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको उल्लेख गरे। आगामी असार मसान्तसम्म मूलभुत काम सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए।
प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने उल्लेख गरे। असार मसान्तपछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सिइओ ज्ञवालीले उल्लेख गरे।
धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।