काठमाडौं- मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष निजी क्षेत्रले आग्रह गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले यस्तो आग्रह गरेका हुन्।
निजी क्षेत्र राजनीतिक स्थिरताको पक्षमा रहेको र विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिँदै आएकाले यो पटक पनि राजनीतिक अस्थिरता रहेका बेला संयमता अपनाउनका लागि अपील गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ–नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने व्यवसायीको भनाइ छ।
कोभिड-१९ को महामारीका कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित भएको व्यवसायीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।